देश

अनुमति अवज्ञा गर्दै माइतीघरमा प्रदर्शन, जेनजी अभियन्ता भुसालसहित केही नियन्त्रणमा

काठमाडौं । माइतीघर क्षेत्रमा अनुमति बिना गरिएको प्रदर्शनका क्रममा जेनजी अभियन्ता निकोलस भुसाललगायत केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मिराज ढुङ्गानाको नेतृत्वमा रहेको समूहले निषेधाज्ञा तथा प्रशासनिक निर्णय अवज्ञा गर्दै प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सो समूहलाई माइतीघरमा प्रदर्शन गर्न अनुमति नदिएको थियो। तर उक्त निर्देशनको बेवास्ता गर्दै प्रदर्शनमा उत्रिएपछि शान्ति सुरक्षामा असर पर्न सक्ने भन्दै प्रहरीले सहभागीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएकाहरूलाई आवश्यक सोधपुछ तथा कानुनी प्रक्रिया अघि बढाउन प्रहरी कार्यालय लगिएको छ। घटनापछि माइतीघर आसपासको क्षेत्रमा सुरक्षा सतर्कता थप बढाइएको छ। यसैबीच जेनजी समूहले आजदेखि देशभर शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको भए पनि प्रशासनले कानुनी प्रक्रियाभित्र रहेर कार्यक्रम गर्न आग्रह गरेको छ।

सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए ।
सो क्रममा माइतीघर मण्डलाबाट ५ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रविकिरण हमालसहितका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनमा सहभागीहरूले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् । उनीहरूले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो,’ लेखिएका प्लेकार्ड बोकेका छन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *