देश

जेनजी आन्दोलनको खरानीबाट उठेका ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा सुनिश्चित

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको मतगणनाले पार्टीभित्र शक्ति सन्तुलन स्पष्ट पार्दै लगेको छ। पछिल्लो मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओली निर्णायक अग्रतासहित तेस्रो कार्यकालका लागि लगभग सुनिश्चित देखिएका छन्। मत गणना जारी भएपनि भारी मतले ओली तेस्रो कार्यकालका लागि निर्वाचित हुँदैछन् ।

तेस्रो चरणसम्म ११३९ मत गणना हुँदा ओलीले ८४३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले २९६ मतमा सीमित भएका छन्। मतान्तर फराकिलो बन्दै जाँदा ओलीको ‘ह्याट्रिक’ अध्यक्षत्व अब औपचारिक घोषणामात्र बाँकी रहेको विश्लेषण भइरहेको छ। महासचिव पदतर्फ पनि ओली पक्षका शंकर पोखरेलले निरन्तर अग्रता कायम राखेका छन्। उनले हालसम्म ६१३ मत प्राप्त गर्दा प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ५२८ मत पाएका छन्। यसले महासचिवमा पनि ओली पक्षकै पकड बलियो रहेको देखाएको छ।

उपमहासचिवतर्फ लेखराज भट्टले सबैभन्दा बढी २९३ मत प्राप्त गर्दै अग्रता बनाएका छन्। उनका पछाडि रघुवीर महासेठ (२६६) र योगेश भट्टराई (२६४) रहेका छन्। त्यस्तै विष्णु रिमाल, आनन्द पोखरेल, वैजनाथ चौधरीलगायत उम्मेदवार पनि प्रतिस्पर्धामा छन्। सचिव पदमा भने अधिकांश ओली निकट उम्मेदवारहरू अगाडि देखिएका छन्। पछिल्लो मतगणना अनुसार महेश बस्नेत र छविलाल विश्वकर्माले समान ३११ मत प्राप्त गर्दै शीर्ष स्थानमा छन्। सचिवमा कुल ९ जना निर्वाचित हुने व्यवस्था छ।

जेनजी आन्दोलनपछिको राजनीतिक उतारचढाव, आन्तरिक विवाद र नेतृत्वमाथि उठेका प्रश्नहरूलाई चिर्दै ओली फेरि पार्टीको केन्द्रमा फर्किएको यस परिणामलाई एमालेभित्र ‘पुनरागमनको राजनीति’का रूपमा हेरिएको छ। महाधिवेशनको अन्तिम नतिजासँगै एमालेको आगामी राजनीतिक दिशा र नेतृत्व संरचना औपचारिक रूपमा तय हुने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *