पोखरा । नेपालको पर्यटन क्षेत्रलाई दिगो र प्रभावकारी रूपमा विकास गर्न सरकार र निजी क्षेत्रबीच घनिष्ठ सहकार्य आवश्यक रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन्। नेपालमञ्च डटकमको तेस्रो वार्षिकोत्सवका अवसरमा पर्यटकीय नगरी पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले पर्यटनलाई नेपालको समृद्धिको प्रमुख आधारका रूपमा व्याख्या गरे।
कार्यक्रममा ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले पर्यटन नै नेपालको भविष्य भएको उल्लेख गर्दै त्यसका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार सक्रिय रहेको बताए। “पर्यटनलाई कसरी व्यवस्थित र दिगो बनाउने भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हो। नेपाल सम्भावनायुक्त देश हो, तर समयमै र सही ढंगले पूर्वाधार निर्माण हुनुपर्छ,” उनले भने। मन्त्री घिसिङले पोखराका मुख्य सडक निर्माण सम्पन्न भइसकेको र मुग्लिन सडक निर्माणको चरणमा रहेको जानकारी दिँदै पर्यटन प्रवर्द्धनका लागि ऐन–कानुन, कर्मचारीतन्त्र र ठेकेदार प्रणालीमा सुधार आवश्यक रहेको औँल्याए।
वार्षिकोत्सव समारोहमा दुईवटा विचार–विमर्श सत्र सञ्चालन गरिएका थिए। दिलिपप्रकाश कार्कीले सञ्चालन गरेको पहिलो सत्र ‘जेनजी आन्दोलनपछिको अर्थतन्त्र र पर्यटन’ विषयमा केन्द्रित थियो। उक्त सत्रमा टान कास्कीका अध्यक्ष कृष्ण आचार्य, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया तथा पत्रकार सुरज कुँवरले आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए। वक्ताहरूले युवापुस्ताको सक्रियता, सामाजिक परिवर्तन र त्यसको पर्यटन तथा राष्ट्रिय अर्थतन्त्रमा पर्ने प्रभावबारे गहिरो विश्लेषण गरेका थिए।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक थपलियाले सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य भए वार्षिक ३० लाख पर्यटक नेपाल भित्र्याउन सम्भव रहेको बताए। जेनजी आन्दोलनका बेला पर्यटन क्षेत्र प्रभावित हुने आशंका रहे पनि त्यसको असर दीर्घकालीन रूपमा नदेखिएको उनको दाबी थियो। “आन्दोलनका कारण देशको छवि प्रभावित हुँदा ठूलो क्षति भयो, तर निजी क्षेत्र, सञ्चार माध्यम र सामाजिक सञ्जालको सक्रियताले एक हप्ताभित्रै पर्यटन क्षेत्रलाई लयमा फर्काउन सफल भयौं,” उनले भने।
टान कास्कीका अध्यक्ष आचार्यले पूर्वाधार विकास र पर्यटनमैत्री नीति निर्माण गर्न सके नेपालमा पर्यटक भित्र्याउन कुनै कठिनाइ नरहेको बताए। पत्रकार कुँवरले पनि नेपालको अर्थतन्त्र सुदृढ बनाउन पर्यटन विकास प्रमुख स्तम्भ भएको उल्लेख गर्दै सरकारले त्यसअनुकूल नीति निर्माणमा प्राथमिकता दिनुपर्नेमा जोड दिए।
त्यसैगरी, पवन पौडेलले सञ्चालन गरेको दोस्रो सत्र ‘नयाँ मिडियाको छायाँमा पुरानो मिडिया’ विषयमा केन्द्रित थियो। यस सत्रमा गोरखापत्रका महाप्रबन्धक लाल ऐरी, नेपाल प्रेसका प्रधानसम्पादक मात्रिका पौडेल, गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी, प्रेस काउन्सिल नेपालका सदस्य नकुल अर्याल तथा अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमलदेव भट्टराई वक्ता रहेका थिए। उनीहरूले डिजिटल युगमा परम्परागत मिडियाको चुनौती, सम्भावना र पत्रकारिताको विश्वसनीयताबारे आ–आफ्नो धारणा राखेका थिए।
पोखरास्थित पौवा होटलमा आयोजित कार्यक्रममा अर्थतन्त्र, पर्यटन र मिडियाको बदलिँदो भूमिकाबारे सार्थक बहस सम्पन्न भएको थियो।




