काठमाडौं। एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो खेलमा पनि जितको स्वाद चाख्न सकेन। दुबईमा सम्पन्न समूह चरणको खेलमा नेपाल बंगलादेशसँग सात विकेटले पराजित भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभर पूरा गर्न नपाउँदै १३१ रनमा सीमित रहँदै बंगलादेशलाई सहज लक्ष्य दिएको थियो। जवाफमा बंगलादेशले तीन विकेटको क्षतिमा २४।५ ओभरमै लक्ष्य भेट्टाउँदै खेल आफ्नो पक्षमा पारेको छ।
बंगलादेशका ओपनर जवाद आब्ररले उत्कृष्ट प्रदर्शन गर्दै ६८ बलमा अविजित ७० रन जोडे। उनले सात चौका र तीन छक्का प्रहार गर्दै टोलीको जित सुनिश्चित गरे। नेपालका तर्फबाट अभिषेक तिवारी र युवराज खत्रीले समान एक–एक विकेट लिन सके।
ब्याटिङमा नेपालले सुरुवात भने उत्साहजनक गरेको थियो। पहिलो विकेटका लागि ६।४ ओभरमा ४० रन जोडिए पनि त्यसपछि लगातार विकेट खस्दा टोली दबाबमा पर्यो। आठौँ नम्बरमा आएका अभिषेक तिवारीले ४३ बल खेल्दै दुई छक्कासहित सर्वाधिक ३० रन बनाए। ओपनर साहिल पटेलले १८ र निरज यादवले १४ रन जोडे भने आशिष लुहारले २३ रन बनाए।
अन्य ब्याट्सम्यानबाट अपेक्षित योगदान नआउँदा नेपालले अतिरिक्तबाट पाएको २३ रन नै राहत बन्यो। बंगलादेशका बलर मोहम्मद सोबुजले तीन विकेट लिँदा साद इस्लाम र शाहरियार अहमदले समान दुई–दुई विकेट हात पारे।
यसअघि नेपाल पहिलो खेलमा श्रीलंकासँग आठ विकेटले पराजित भएको थियो। लगातार दुई हारसँगै प्रतियोगितामा नेपालको यात्रा थप चुनौतीपूर्ण बनेको छ।




