काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी पुस ५ गते काठमाडौंमा केन्द्रीय स्तरको ‘एकता सन्देश सभा’ आयोजना गर्ने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालय बैठकले राजधानीको भृकुटीमण्डपमा भव्य सभाको आयोजना गर्ने निर्णय गरेको हो।
पार्टीका अनुसार बागमती प्रदेश, सम्पर्क समन्वय प्रदेश र विशेष प्रदेशको संयुक्त आयोजनामा हुने उक्त सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाललगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
गत कात्तिक १९ गते माओवादी, एकीकृत समाजवादीसहित १० वटा वाम दल तथा समूह एकत्रित भई नेकपा घोषणा भएपछि पार्टीले देशव्यापी रूपमा एकता सन्देश सभाहरू सञ्चालन गर्दै आएको छ। यसअघि सातै प्रदेशमा यस्ता सभा सम्पन्न भइसकेका छन्।
पार्टी नेतृत्वले काठमाडौंको सभालाई संगठन सुदृढीकरण, राजनीतिक एकता र भावी कार्यदिशाबारे स्पष्ट सन्देश दिने महत्वपूर्ण कार्यक्रमका रूपमा लिएको जनाएको छ।




