काठमाडौं । कलाकार दिपकराज गिरीले प्रत्यक्ष रूपमा सक्रिय राजनीति गर्ने उद्देश्य नभएका कलाकर्मीहरूका लागि स्वतन्त्र भूमिकामा रहनु नै उपयुक्त हुने धारणा सार्वजनिक गरेका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो विचार राख्दै दलगत आबद्धताभन्दा आलोचनात्मक र स्वतन्त्र दृष्टिकोण अपनाउन सुझाव दिएका हुन् ।
गिरीले राजनीतिक गतिविधिमा संलग्न हुने तर औपचारिक राजनीतिमा नजाने भनिरहेका केही कलाकारप्रति संकेत गर्दै भनेका छन्— सक्रिय रूपमा राजनीतिमा नजाने हो भने कुनै दल, समूह वा विचारधाराको पक्षपोषण गर्नेभन्दा सही कामको प्रशंसा र गलत कामको आलोचना गर्दै ‘सधैँ विपक्षी’ को भूमिकामा रहनु उचित हुन्छ ।
उनको उक्त अभिव्यक्तिलाई कलाकर्मीको सामाजिक जिम्मेवारी, स्वतन्त्रता र वैचारिक स्वायत्ततासँग जोडेर हेर्ने गरिएको छ । सामाजिक सञ्जालमा गिरीको भनाइले मिश्रित प्रतिक्रिया पनि पाउन थालेको छ ।




