काठमाडौं । नेकपा एमालेको आसन्न एघारौँ महाधिवेशनका लागि राष्ट्रिय युवा संघ नेपालले चयन गरेका प्रतिनिधिहरू आधिकारिक रूपमा सार्वजनिक नभए पनि सूची संगठन विभागमा दर्ता भइसकेको बताइएको छ। विभागका एक सदस्यका अनुसार ७ जना प्रतिनिधिको नाम अन्तिम भइसकेको छ।
युवा संघबाट खुलातर्फ अध्यक्ष क्षितिज थेबे, उपाध्यक्ष महाराज गुरुङ र विनय शाह तथा महासचिव महेश चौलागाईँ महाधिवेशन प्रतिनिधिमा परेका छन्। त्यस्तै महिला कोटाबाट सचिव निशा लिम्बु, सचिवालय सदस्य निरुपमा राई र पञ्चमी रेग्मी प्रतिनिधिमा चयन गरिएको छ।
तर सूचीमा रहेका एक सदस्यको संगठन सदस्यताको अवधि सम्बन्धी विवाद देखिएकाले नाम सार्वजनिक गर्न ढिलाइ भएको स्रोतले जनाएको छ। यसै बीच, युवा संघका अध्यक्ष क्षितिज थेबे एघारौँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने लगभग पक्का भएको बताइएको छ।
एमालेभित्र युवा संरचना सुदृढ पार्न थेबे सशक्त विकल्पका रूपमा प्रस्तुत हुने मूल्यांकन गरिएको छ।




