काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाज उत्कृष्ट प्रदर्शन गर्दै प्लेअफमा प्रवेश गर्ने दोस्रो टिम बनेको छ। पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्न शाहब आलमको ऐतिहासिक बलिङ निर्णायक बन्यो।
काठमान्डुले दिएको १६६ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले २० ओभरमै १० विकेट गुमाएर १५२ रन मात्र जोड्यो। काठमान्डुका शाहब आलमले ४ ओभरमा २५ रन खर्चेर ६ विकेटसहित ह्याट्रिक पूरा गर्दै सिजनको उत्कृष्ट बलिङ प्रदर्शन गरे। उनी यस सिजन ६ विकेट लिने पहिलो खेलाडी बने।
पोखराका ऋषि धवनले ५४ रनको अर्धशतक प्रहार गरे पनि अन्य ब्याट्सम्यानबाट पर्याप्त साथ नपाएका कारण लक्ष्य नजिक पुग्न सकेनन्। धनन्जय लक्षनले ३० रन जोडे भने कप्तान कुशल भुर्तेलले २२ रन बनाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको थियो। ओपनर बेन चार्ल्सवर्थले ५५ बलमा ६४ रन र भीम शार्कीले २३ बलमा ५५ रन प्रहार गर्दै टिमलाई सम्मानजनक स्कोर दिलाए। छैटौं विकेटका लागि ७६ रनको साझेदारी काठमान्डुको इनिङ्सको बन्यो।
लिग चरणका ७ खेल सक्दा काठमान्डुले १० अंकसहित दोस्रो स्थान सुरक्षित गरेको छ र शीर्ष दुईमा रहने सम्भावना बलियो बनाएको छ। उता पोखराले ६ खेलमा चौथो हार व्यहोर्दै प्लेअफ सम्भावना कमजोर पारेको छ। धनन्जय लक्षनले पोखराका लागि बलिङमा सर्वाधिक ४ विकेट लिए, तर उनको प्रयास टीमलाई जित दिलाउन पर्याप्त भएन।




