काठमाडौं । नेपाली कांग्रेस सुनसरीले जेनजी आन्दोलनका क्रममा हिंसा, आगजनी र तोडफोडमा संलग्न सदस्यको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ।
जिल्ला समितिको आजको बैठकले सरकारी र निजी सम्पत्तिमा भएको क्षति र लुटपाटमा संलग्न सदस्यको सूची तयार गरी नामावलीका आधारमा सदस्यता नवीकरण नगर्ने निर्णय गरेको जिल्ला सभापति केदार भण्डारीले जानकारी दिए।
बैठकले, वडास्तरबाट पनि हिंसामा प्रोत्साहित हुने सदस्यको नाम संकलन गर्न निर्देशन दिएको छ। प्रदेश कार्यसमितिले पनि यस निर्णयलाई केन्द्रीय समितिसम्म सिफारिस गर्ने प्रदेश महामन्त्री उमेश थापाले बताए।
उनका अनुसार, “गलत कार्यमा संलग्न व्यक्तिलाई पार्टीले संरक्षण गर्ने छैन, आवश्यक परे पार्टीले खोजी–खोजी निष्कासनसमेत गर्नेछ।”
सुनसरीमा जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयमा भएको आगजनी र तोडफोडले करिब एक अर्ब १७ करोडभन्दा बढीको क्षति पुर्याएको थियो। हालसम्म निजी क्षेत्रको क्षतिको विवरण संकलन गर्न सकिएको छैन। जिल्लाका ३३ सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको थियो।




