काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सभापति पदका आकांक्षीहरू खुलेर अघि आइरहेका छन्। महामन्त्री गगन थापादेखि संस्थापनइतर नेता डा. शेखर कोइरालासम्मले उम्मेदवारी घोषणा गरिसकेका बेला पूर्वप्रतिस्पर्धी कल्याण गुरुङ पनि प्यानलसहित सभापति पदमा उभिने तयारीमा छन्।
महामन्त्री थापाले बुधबार हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’ कार्यक्रममार्फत सभापति पदमा उठ्ने घोषणा गर्दै पार्टीभित्र नयाँ नेतृत्व आवश्यक रहेको बताएका थिए। यसअघि नै डा. शेखर कोइरालाले पनि महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने स्पष्ट पारिसकेका छन्।
यता कांग्रेसका सात पूर्वपदाधिकारीहरूको समूह भने साझा उम्मेदवार चयन गर्ने प्रयासमा जुटिरहेको छ। तर विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला, विजय गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महतबीच सहमति भने बन्न सकेको छैन। गच्छदार र महतले उम्मेदवारी नखोल्दा बाँकी पाँचजना सभापतिमा उठ्ने इच्छा राख्दै आएका छन्।
अघिल्ला महाधिवेशनदेखि निरन्तर सक्रिय रहेका निधि र प्रकाशमान दुवैले यसअघि सभापतिमा प्रतिस्पर्धा गरिसकेका थिए। १४औँ महाधिवेशनमा देउवालाई साथ दिएका उनीहरूलाई पछिल्लो चरणमा केन्द्रीय सदस्यमा मनोनयन गरिएको थियो।
कल्याण गुरुङ पुनः मैदानमा
गत महाधिवेशनमा २२ मतसहित पाँचौं स्थानमा रहेका कल्याण गुरुङ पनि फेरि सभापति पदमा प्रतिस्पर्धामा उत्रने भएका छन्। यसपटक प्यानलसहित अघि सर्ने तयारीमा रहेका गुरुङले केही दिनभित्र टिमसहित औपचारिक घोषणा गर्ने बताएका छन्।
अनलाइनखबरसँग कुरा गर्दै उनले भने, “अघिल्लो महाधिवेशनमा प्यानल नबनाउनु नै ठूलो कमजोरी भयो। यो पटक प्यानलसहित उठ्छु। अरू आकांक्षीलाई साथ दिने अवस्था छैन, तर उनीहरूले साथ दिन चाहे सहकार्य सम्भव छ।”
महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र सभापति पदको प्रतिस्पर्धा झनै चर्किएको छ। अब कसले कति बलियो संगठनिक आधार र गठबन्धन निर्माण गर्छ, त्यसले नेतृत्व चयनको आगामी समीकरण निर्धारण गर्ने देखिन थालेको छ।




