काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच भएको एकता घोषणामा सभापति रवि लामिछानेले नक्खु कारागारबाटै पठाएका तीन राजनीतिक सन्देशले पार्टीभित्र फेरि शक्ति–सन्तुलनको बहस चर्किएको छ। आठ महिनादेखि सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा बसेका लामिछाने पार्टीका प्रमुख निर्णयहरूमा अझै पनि निर्णायक भूमिकामा रहेको आरोपसहित रास्वपाभित्र ध्रुवीकरण बढ्दै गएको छ।
एकतासभाको दिन उपसभापति तथा संवाद समितिका संयोजक डा. स्वर्णिम वाग्ले मार्फत रविले तीन प्रमुख सन्देश पठाएका थिए। विवेकशील साझाका नेताहरूप्रति स्वागत, केही समय शान्त रहँदै काममा ध्यान दिन सुझाव र ‘मिडिया ट्रायल’बाट सचेत रहन आग्रह—यी तीनै सन्देशले पार्टीभित्र उनको प्रभाव अझै स्थिर रहेको संकेत गरेको छ।
एकता घोषणाअघि वाग्लेले सहमतिका पाँच बुँदे ड्राफ्ट रविलाई सुनाएका थिए। रवि त्यसमा उत्साहित रहेको जानकारी वाग्लेले सार्वजनिक रूपमा साझा गरेका थिए। त्यही दिन सहसंयोजक शिशिर खनाल पनि कारागारमै पुगेका थिए, जहाँ रविले विवेकशील साझासँग जोडिएका नेताहरूलाई ‘घरको सदस्य’को रूपमा स्वीकारिएको संदेश पठाए।
जेलमै बसेर नेतृत्वको नियन्त्रण ?
रवि लामिछाने पुर्पक्षका लागि थुनामा भए पनि रास्वपाका महत्त्वपूर्ण निर्णय कारागारबाटै हुने गरेको रास्वपा वृत्तमा चर्चा छ। कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति वाग्ले, महामन्त्री कवीन्द्र बुर्लाकोटी र अन्य सचिवालय सदस्यहरू पालैपालो कारागार पुगेर पार्टीको दिशानिर्देशनको सहमति लिने गरेको बताइन्छ।
रविलाई पुर्पक्षका लागि जेल पठाउन उच्च अदालत बुटवलको आदेश भए पनि उनले आफूविरुद्ध मुद्दा राजनीतिक प्रतिशोधका आधारमा लगाइएको जिकिर गर्दै आएका छन्। यही दाबीका आधारमा रास्वपाले देशभर हस्ताक्षर अभियान चलाएको थियो, जहाँ ४० लाख हस्ताक्षर जुटेको दाबी गरिएको छ।
पार्टीभित्र बढ्दो असन्तुष्टि
रास्वपाका केही पूर्व तथा वर्तमान नेताहरू भने पार्टीका सबै निर्णय ‘नक्खुबाटै निर्देशित’ हुने गरेको आरोप लगाउँछन्। पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले “गल्ती स्वीकार नगर्ने, आलोचकलाई मिडिया ट्रायलमा धकेल्ने” प्रवृत्तिले पार्टी बिग्रिएको आरोप लगाउँदै राजीनामा दिएकी थिइन्।
त्यस्तै, पूर्वप्रमुख सचेतक सन्तोष परियारले पनि नेतृत्वप्रति असन्तुष्टि जनाउँदै रास्वपा छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टीतिर लागेका छन्। डा. तोसीमा कार्की पनि विधि–पद्धतिप्रति असन्तुष्टि व्यक्त गर्ने कतारमा छन्।
पार्टी नेतृत्व रवि–निर्भर भएको आरोपबारे सहमहामन्त्री विपिन कुमार आचार्य भने असहमत छन्। उनले पार्टीका सबै निर्णय विधि, पद्धति र संस्थागत संरचनाअनुसार नै हुने दाबी गर्छन्।
एजेन्डा मिल्ने दलहरूसँग निरन्तर संवाद
जेनजी आन्दोलनपछि राजनीतिक ध्रुवीकरण तीव्र रूपमा बढेपछि रास्वपाभित्र पनि समान एजेन्डा भएका समूह र दलहरूसँग एकता तथा सहकार्यका आवाज उठिरहेका छन्। यसका लागि पुकार बमको नेतृत्वमा बनेको वार्ता समिति विभिन्न समूहसँग छलफलमै छ। बमले पनि ‘पार्टी नक्खुबाट चलेको’ आरोपलाई आधारहीन बताउँदै सबै सदस्य स्वतन्त्र रूपमा काम गरिरहेको जिकिर गरेका छन्।
रविको उदय र विकल्प खोज्ने बहस
रविले २०७९ असार ७ मा स्थापना गरेको रास्वपाले पाँच महिनामै २१ सिट जितेर नेपाली राजनीतिमा ठूलो उछाल ल्याएको थियो। पार्टीभित्रका नेताहरूले आफूलाई वैकल्पिक राजनीतिको ‘मुख्य प्रेरक’ मान्ने रविको भूमिकालाई स्वीकारे पनि, ठगी, दोहोरो नागरिकता, राहदानी, सम्पत्ति शुद्धीकरणदेखि जेल–तोड प्रकरणसम्मका विवाद बढेपछि उनको विकल्प खोज्नुपर्ने चर्चा तीव्र बन्दै गएको छ।
भदौ २४ मा जेनजी आन्दोलनका क्रममा कार्यकर्ताले कारागार भत्काएर रविलाई निकालेको आरोपबाट उत्पन्न विवादले स्थिति झनै जटिल बनाएको थियो। ती आरोपपछि उनी पुनः कारागार फर्केका थिए।
रास्वपाको हालको दिशा, नेतृत्व विवाद र कारागारमै बसेर भइरहेको राजनीतिक सक्रियताले पार्टीलाई कुन दिशातिर लैजाने हो भन्ने प्रश्न अहिले पनि खुला नै छ।



