देश

विश्वासको मत’ को समयसङ्कट : मुख्यमन्त्रीको अनुपस्थितिले मधेश प्रदेशसभा बैठक दिउँसो दुई बजे

काठमाडौं  । मधेश प्रदेशमा आज बिहान बोलाइएको प्रदेशसभा बैठक मुख्यमन्त्री सरोजकुमार यादव उपस्थित नहुँदा फेरि स्थगित भएको छ। सरोकारवाला दलका सांसदहरू समयमै पुगे पनि बैठक निर्धारित समयभन्दा दुई घन्टा ढिला सुरु भयो र अन्ततः दिउँसो २ बजेसम्मका लागि सारियो।

सचिवालयले बिहान ८ : ३० बजे नै विश्वासको मतका लागि बैठक तोकेको थियो। तर मुख्यमन्त्री यादवले बिहानको समय अस्वीकार गर्दै ‘विश्वासको मत दिउँसो २ बजे मात्र लिने’ अडान पत्रमै सचिवालयलाई पठाएपछि कार्यसूची बिथोलिएको हो। उपसभामुख बबिता कुमारी राउत ईशरले यही कारण देखाउँदै बैठक स्थगित गरिएको जानकारी दिइन्।

विपक्षीहरू समयमै, सत्ता पक्ष अनुपस्थित

विपक्षी दलका सांसदहरू तोकिएको समयमा नै प्रदेशसभामा उपस्थित थिए। तर मुख्यमन्त्री यादवसहित एमालेका केही सांसदहरू पनि बैठक सुरु हुँदा उपस्थित थिएनन्। करिब साढे १० बजेसम्म पनि मुख्यमन्त्री सभाहलमा नआएपछि बैठक अगाडि बढाउन सम्भव भएन।

हिजो साँझ बसेको सर्वदलीय वैठक र कार्यव्यवस्था परामर्श समितिले बिहानको बैठकमा नै विश्वासको मत प्रक्रिया अघि बढाउने सहमति गरेका थिए। तर मुख्यमन्त्री यादवले आफूले पठाएको पत्रअनुसार नै समय निर्धारण हुनुपर्ने भन्दै उपसभामुखले ‘दलहरूको उक्साहटमा’ बिहानै बैठक तोकेको आरोप लगाए। उनका अनुसार, विगतमा पनि मुख्यमन्त्रीहरूले सुझाएको समयलाई नै सचिवालयले प्राथमिकता दिएको तर यसपटक आफूले मागेको समयअनुसार नभएर ‘राजनीतिक दबाबमा’ बैठक बोलाइएको उनको गुनासो छ।

मुख्यमन्त्रीको अडानपछि उपसभामुख ईशरले पुनः कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको घोषणा गरिन्। अब विश्वासको मत प्रक्रिया साँझतिर मात्र अघि बढ्ने भएको छ। मधेश प्रदेशमा सत्ता समीकरण बदलिइरहेका बेला मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रक्रियालाई समयमै अघि बढाउने कि फेरि विवाद सिर्जना हुने—यो भने दिउँसो २ बजेको बैठकले नै तय गर्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *