काठमाडौं । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै बैकुण्ठप्रसाद अर्याललाई सचिवमा पदोन्नति गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले बैठकका निर्णयहरू सार्वजनिक गर्दै अर्यालको बढुवासँगै प्रशासनिक तहमा नयाँ संरचना अघि बढेको बताए।
नगद कारोबारमा कडाइ : पाँच लाखभन्दा माथि बैंकिङ माध्यम अनिवार्य
बैठकले आगामी माघ १ गतेबाट लागू हुने गरी ठूलो रकमको नगद कारोबारमा कडाइ हुँदै पाँच लाख रुपैयाँभन्दा बढीका कुनै पनि सेवा वा वस्तुको खरिद–बिक्री तथा कारोबार अब बैंकिङ प्रणालीमार्फत मात्र गर्नुपर्ने व्यवस्था पारित गरेको छ। सरकारले यसलाई वित्तीय पारदर्शिता र अवैध कारोबार नियन्त्रणतर्फको महत्त्वपूर्ण कदमका रूपमा लिएको छ।
श्रीलंकालाई दुई लाख डलर सहयोग
हालै श्रीलंकामा आएको बाढी–पहिरोका कारण ठूलो धनजन क्षति भएको सन्दर्भमा नेपाल सरकारले दुई लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। यो सहयोग श्रीलंकाको राहत तथा पुनःस्थापना कार्यमा प्रयोग गरिनेछ।
यूजीसी सचिवमा प्रा. ज्ञानबहादुर थापा
शिक्षा क्षेत्रको महत्वपूर्ण निकाय विश्वविद्यालय अनुदान आयोग ९यूजीसी० का सचिवमा प्राध्यापक ज्ञानबहादुर थापा नियुक्त गरिएको प्रवक्ता खरेलले जानकारी दिए। यससँगै यूजीसीको प्रशासनिक नेतृत्वमा नयाँ संरचना लागू हुनेछ।
भदौ २३ ‘जेनजी सहिद दिवस’
जेनजी आन्दोलनमा ज्यान गुमाएका नागरिकहरूको स्मृतिमा सरकारले भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’ का रूपमा मनाउने व्यवस्था पारीत गरेको छ। साथै सहिदका परिवार—आमा, बुबा, पतिरपत्नी तथा अविवाहित छोराछोरीलाई गृह मन्त्रालयमार्फत फोटोसहितको परिचयपत्र प्रदान गरिनेछ।
सरकारले यो निर्णयलाई जेनजी आन्दोलनको औपचारिक मान्यता र सहिद परिवारप्रतिको राज्य जिम्मेवारीका रूपमा व्याख्या गरेको छ।
अन्य निर्णयहरू :
मन्त्रिपरिषद्ले यसैसंगै—प्रेस काउन्सिल नेपालका अध्यक्षमा डा. कुमा शर्मा आचार्यलाई मनोनीत गर्ने,
कार्बन व्यापार नियमावली–२०८२ स्वीकृत गर्ने निर्णय समेत गरेको छ। सरकारका यी निर्णयसँगै प्रशासनिक सुधार, वित्तीय अनुशासन, अन्तर्राष्ट्रिय सहयोग र सामाजिक–राजनीतिक स्वीकृतिमा समानान्तर रूपमा पहल गरिएको देखिएको छ।




