देश

कांग्रेस महाधिवेशन पुसमै सम्भव, बहानाभन्दा ‘युद्धस्तर’मा काम चाहिन्छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पुस महिनाभित्रै महाधिवेशन सम्पन्न गर्न सकिने दाबी गरेर पार्टीभित्रै जारी उठापटकतर्फ संकेत गरेका छन्। उनले महाधिवेशनको तयारीमा अनावश्यक विवाद झिकेर डेढ महिना समय खेर फालिएको भन्दै अब बाँकी समयलाई युद्धस्तरको तयारीमा खर्चिन पार्टी नेतृत्व र संरचनाहरूलाई आग्रह गरेका हुन्।

पार्टी बैठकमा दोस्रो दिनमै महाधिवेशन तालिकासहित लिखित प्रस्ताव दर्ता गराएपनि तत्काल गम्भीरतापूर्वक नल्याइएपछि प्रक्रिया ढिलो भएको भन्दै नेता पौडेलले गुनासो व्यक्त गरे। “कात्तिक ३० गते नै मैले तालिका बनाएर प्रस्तुत गरिसकेको थिएँ। यति बेलासम्म निर्णय भएको भए आज हामी चापबिनै अघि बढिरहेका हुन्थ्यौं,” उनले भिडियो वक्तव्यमार्फत भने। निर्णय सार्वजनिक भएसँगै धेरै नेता–कार्यकर्ताले छोटो तयारी अवधि देखाएर शंका व्यक्त गरे पनि आफूले सुरु देखिनै सम्भव भएको आकलन गरेको पौडेलको दाबी छ। उनको भनाइमा, ‘गम्भीरता र गति’ दुई कुरा सुनिश्चित भएमा बाँकी कार्य तालिका सहजै कार्यान्वयन हुन्छ।

पौडेलले आफ्नो प्रस्तावपछि नै महामन्त्रीबाट पनि पुसमै महाधिवेशन गराउने प्रस्ताव आएको तर दुवै प्रस्ताव तत्काल स्वीकृत गरिन नसक्दा महाधिवेशनको समय व्यवस्थापन जटिल बनेको बताए। उनका अनुसार— “त्यतिबेला निर्णय भएको भए हामीसँग आरामसहित तयारी गर्ने समय हुन्थ्यो। अहिले भने सबै संरचना युद्धमा जस्तै गतिमा अघि बढ्नुपर्छ,” उनले भने। महाधिवेशन तयारीमा सदस्यता नवीकरण र वितरण नै विवाद बढाउने संवेदनशील मुद्दा हुने बताउँदै पौडेलले यसपटकको प्रावधानले विगतमा जस्तो विवाद नदोहोोरिने अपेक्षा गरेका छन्। उनले पार्टीका सबै तहलाई एकीकृत भएर अघि बढ्न आग्रह गर्दै भने—“महाधिवेशन सफल हुनु कांग्रेसको सामूहिक हित हो। सबै जिम्मेवार भएर काम गरे समय अभाव बाधा बन्दैन।”

पुस २६ देखि २८ सम्म महाधिवेशन

सोमबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पुस २६, २७ र २८ गते १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। अब पौडेललगायत नेताहरूको चुनौती— यसलाई समयमै, विवादमुक्त र प्रभावकारी ढंगले सम्पन्न गराउने हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *