काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले देश “गम्भीर र संवेदनशील मोडमा” रहेको बताएका छन् । मुस्लिम समुदायसँग आयोजित ‘नेपाली कम्युनिस्ट पार्टी विषयक छलफल’ मा बोल्दै उनले हालको राजनीतिक र सामाजिक वातावरणलाई “अफ्ठ्यारो र चुनौतीपूर्ण” भन्दै सबै पक्षले राष्ट्र बचाउन भूमिका खेल्नुपर्नेमा जोड दिए।
“२४ भदौको विध्वंसपछि आत्मनिर्णयसमेत शंकाको घेरामा”प्रचण्डले भदौ २३–२४ को आन्दोलनपछि देशमा अनिश्चितता र अस्थिरताको वातावरण थपिएको उल्लेख गर्दै भने—“२४ भदौको विध्वंसपछि सिङ्गै नेपाली समुदायको आत्मनिर्णयको अधिकारमाथि प्रश्नचिह्न खडा भएको छ।” उनका अनुसार यो घटनाक्रमले देशभित्रको जातीय, धार्मिक र सांस्कृतिक सहअस्तित्वकै आधारलाई चुनौती दिएको छ।
प्रचण्डले राष्ट्रको पहिचानलाई केवल नक्सामा सीमित नभई विविध जातजाति, धर्म र संस्कृतिको संयुक्त अस्तित्व नै राष्ट्रको वास्तविक आधार भएको व्याख्या गर्दै सबै नागरिकले यसको रक्षा गर्न साझा जिम्मेवारी लिनुपर्ने बताए। उनले जोड दिए—“राष्ट्र भनेको भूगोल मात्र होइन, विविधताको योगफल हो। राष्ट्र बचाउने जिम्मेवारी सबैको हो।”
कार्यक्रममा सहसंयोजक माधवकुमार नेपालले पनि देश वर्तमान अवस्थामा ‘नाजुक चरण’मा रहेको उल्लेख गर्दै विभाजनकारी र उत्तेजक समूह सक्रिय भएकाले उच्च सतर्कता आवश्यक रहेको बताए। उनले भने—“देशलाई जोगाउन सबैले प्रयास गर्नुपर्छ। भिडलाई उक्साउने तत्व सक्रिय छ—त्यसबाट जोगिनुपर्छ।”
उनका अनुसार सबैभन्दा महत्वपूर्ण काम भनेको “सबैभन्दा पहिला नेपाली” भन्ने भावना जनस्तरमा पुनर्जीवित गर्नु हो। दुवै शीर्ष नेताका भनाइबाट राजनीतिक अविश्वास, सामाजिक तनाव र राष्ट्रिय सहमतिको खस्कँदो अवस्था प्रति पार्टी नेतृत्वको गहिरो चिन्ता प्रकट भएको देखिन्छ।
उनीहरूले राज्यको स्थायित्व र राष्ट्रिय समन्वय जोगाउन समुदायदेखि नेतृत्वसम्म एकैसाथ सक्रिय हुनुपर्ने सन्देश दिएका छन्।




