काठमाडौं । नेपाली कांग्रेसमा चुनावअघि महाधिवेशन गर्ने विषयलाई लिएर संस्थापन पक्ष र विशेष महाधिवेशन मागकर्ता नेताबीच सोमबार करिब चार घण्टा लामो छलफल भएको छ। सभापति शेरबहादुर देउवा पक्षका २७ केन्द्रीय सदस्यले आगामी निर्वाचनअघि नै १५औं महाधिवेशन गर्नुपर्ने मागसहित शीर्ष नेताहरूसँग भेटघाट गरिरहेका छन्। उनीहरूले सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मासँग भेटेर चुनाव अघि महाधिवेशन आवश्यक रहेको धारणा राखेका थिए।
संस्थापनइतर पक्षका नेता डा. शेखर कोइरालालाई पनि आइतबार भेटेर उनीहरूले यही मागमा समर्थन जनाउन आग्रह गरेका थिए। सोमबार विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने नेताहरूसँग पनि उनीहरूको छुट्टै भेटवार्ता गरे ।
छलफलपछि केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले भने, “हामीले चुनावअघि नियमित महाधिवेशन गर्नैपर्छ भन्ने अडान राख्यौं। विशेष महाधिवेशन पक्षधरले भने समय धेरै बितिसकेकाले अब विशेष महाधिवेशनमै जाने पक्ष राखे।”
मंसिर ११ गते बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशनबारे औपचारिक निर्णय लिनेछ। त्यसपछि पुनः छलफल जारी राख्ने सहमति भएको शेर्पाले बताए। उनले थपे, “महाधिवेशन नगरी पार्टी चुनावमा जान सक्दैन भन्नेमा दुवै पक्षको साझा धारणा छ।”
छलफलमा गुरुराज घिमिरे, देवराज चालिसे, जनक गिरी, सुवास पोखरेल, नारायण भट्टराई, बलदेव तिमिल्सिना, युवराज पाण्डेसहित विशेष महाधिवेशन पक्षधर नेताहरू सहभागी थिए। तिमिल्सिनाका अनुसार, “संस्थापन पक्षले फास्ट–ट्र्याक प्रक्रियाबाट नियमित महाधिवेशन सम्भव हुने भनाइ राख्यो, तर हामीले अब विशेष महाधिवेशनबाहेक विकल्प छैन भन्ने स्पष्ट गर्यौं।”




