काठमाडौं । दुर्गा प्रसाईँको गिरफ्तारी विवाद चर्किरहेको बेला नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशिला कार्कीलाई प्रत्यक्ष सवाल उठाएका छन्। उनले प्रसाईँले सार्वजनिक गरेको भिडियोका मुद्दामा सरकार मौन बस्न नपाउने भन्दै “जवाफ दिनुपर्ने” माग दोहोर्याएका छन् । स्थानीय तहका जनप्रतिनिधि विषयको अन्तरक्रियामा बोल्दै ओलीले सरकारको कदमलाई ‘अलोकतान्त्रिक’ र ‘आवेशपूर्ण’ करार गरे गर्दै जनजी आन्दोलन बारे दुर्गा प्रसाइंँले सार्वजनिक गरेको अडियो भिडियोको जवाफ दिन आग्रह गरेका हुन् ।
अध्यक्ष ओलीका अनुसार—दिउँसो भिडियो आयो, राति नै प्रहरीले समात्यो। म सोध्छु—सरकारसँग त्यस भिडियोको जवाफ छ कि छैन ? प्रधानमन्त्रीसँग छ कि छैन, गृहमन्त्रीसँग छ कि छैन ? केवल प्रहरीले लगेर थुन्ने शैलीले प्रश्न सकिँदैन।” ओलीले प्रसाईँलाई रातारात पक्राउ गर्नु समस्या समाधान नभई राजनीतिक असहिष्णुताको संकेत भएको बताए।दुर्गा प्रसाईँले उठाएका प्रश्नको जवाफ देशले खोज्ने भन्दै त्यसको जवाफ प्रधानमन्त्रीका हैसियतले दिनुपर्ने उनले बताए । मानवअधिकार आयोगको टिप्पणीसमेत उद्धृत गर्दै उनले अभिव्यक्तिका आधारमा प्रसाईंलाई पक्राउ गर्नु मानवअधिकार उल्लंघन भएको तर्क गरे। ओलीले जेनजी आन्दोलनतर्फ फर्कँदै प्रधानमन्त्री कार्की स्वयं आन्दोलनकारीलाई उक्साउने किसिमका अभिव्यक्ति दिएको भन्दै अप्रत्यक्ष आलोचना गरे।
उनले स्मरण गराए—जेनजी आन्दोलनताका पूर्वप्रधानन्यायाधीश स्वयंले बोलेका भिडियोहरू सामाजिक सञ्जालमा देखिएका थिए। पछि आलोचना भएपछि हटाइयो। तर हटाएपछि जिम्मेवारी पनि हटिहाल्दैन।”ओलीको आशय स्पष्ट थियो— सरकारले प्रसाईँमाथि ‘कानून’ देखाउने तर आफू निकट समूहका गतिविधि ‘नदेखेझैँ गर्ने’ दोहोरो चरित्र स्वीकार्य हुँदैन। ओलीले पछिल्ला अराजक घटनाहरूलाई सरकारको कमजोरीसँग जोड्दै भने— “नियन्त्रण कसैले गरेन भने ६०–७० जनाले सिंहदरबारमै आगो लगाउन सक्छन्। विगतमा यस्तो भएको पनि हो। अनि प्रसाईँलाई मात्र थुनेर देश चल्छ ?”
ओलीका अनुसार जसरी जेनजी नाममा चरम गतिविधि भइरहेकामा सरकारको कठोर प्रतिक्रिया देखिँदैन, त्यसले राज्य–प्रणाली नै जोखिममा परेको संकेत गर्छ। सम्पूर्ण प्रसङ्गलाई समेट्दै पूर्वप्रधानमन्त्री ओलीले सरकार, विशेष गरी प्रधानमन्त्री कार्कीलाई प्रत्यक्ष चुनौती दिए— दुर्गा प्रसाईँको भिडियो रोकियो, तर प्रश्न रोकिँदैन। अब प्रधानमन्त्री कार्की स्वयंले जनतालाई जवाफ दिनुपर्छ। जेनजी आन्दोलनमा पूर्वप्रधान न्यायाधीस तथा वर्तमान अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्की सामेल भएर उनीहरुलाई आन्दोलन गर्न उक्साएका भिडियोहरु विभिन्न सामाजिक संजालका प्लेटफर्महरुमा सार्वजनिक भएका थिए । पछि सो घटनाबारे चौतर्फी आलोचना भएपछि उनले दिएका अभिव्यक्ति सहितका भिडियोहरु हटाइएका थिए ।




