देश

दुर्गा प्रसाईँ पक्राउपछि उपत्यकामा सतर्कता उच्चस्तरमा, कानुन व्यवसायीर्ला भेट गर्न नदिदा थप विवाद

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईँ सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट पक्राउ परेपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ। सम्भावित प्रदर्शन र भीड व्यवस्थापनलाई ध्यानमा राख्दै तीनवटै जिल्लास्तरका प्रहरी कार्यालयलाई सतर्क रहन निर्देशन दिइएको प्रहरीले जनाएको छ।

प्रसाईँलाई पक्राउ गरेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानिपोखरीले सुरक्षा संयन्त्र बलियो बनाउन विशेष आदेश जारी गरेको छ। त्यसका आधारमा मुख्य चोक, सरकारी कार्यालय क्षेत्र र संवेदनशील बिन्दुमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ।

प्रसाईँले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गर्दै आएका थिए। तर तय मितुभन्दा केही दिनअघि नै पक्राउ परेपछि उनको समर्थनमा नागरिक बचाउ दलले आजैदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेको छ।
महामन्त्री प्रेमकुमार थाम्सुहाङले “आजै सडकमा उत्रिन्छौँ” भनेपछि उपत्यकाको सुरक्षा झन् कडा गरिएको हो।

पक्राउ परेका प्रसाईँलाई काठमाडौं प्रहरी परिसर भद्रकालीस्थित हिरासतमा राखिएको छ। तर आज बिहान भेट्न पुगेका उनका कानुन व्यवसायीहरूलाई प्रहरीले भेट अनुमति नदिएपछि कानुनी अधिकार उल्लङ्घन भएको भन्दै आपत्ति जनाइएको छ।

अधिवक्ता विनोदमणि भट्टराईले भने,“प्रहरीले ‘माथिको आदेश’ भन्दै भेट्न दिएन। यो संवैधानिक अधिकारविपरीत छ।” संविधानको धारा २०(२) अनुसार पक्राउ परेका व्यक्तिलाई रोजेको कानुन व्यवसायीसँग सल्लाह गर्न पाउने अधिकार सुनिश्चित गरिएको भए पनि प्रहरीको निर्णयले विवाद बढाएको कानुन व्यवसायीहरूको भनाइ छ।

प्रसाईँको तत्काल रिहाइ माग गर्दै नागरिक बचाउ दलले आज दिउँसो १ः३० बजे काठमाडौं सीडीओ कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम तय गरेको छ। अध्यक्ष माधवप्रसाद खतिवडाका अनुसार, “२४ घण्टाभित्र प्रसाईँलाई मुक्त गर्नुपर्छ” भन्ने मागसहित देशव्यापी विरोध कार्यक्रम सुरु हुनेछ।

प्रहरीले प्रसाईँलाई आजै अदालतमा उपस्थित गराई म्याद लिएर थप अनुसन्धान अघि बढाउने तयारी गरिरहेको छ।पक्राउ, विरोध र सुरक्षा व्यवस्था कडा पारिएको श्रृंखलाले उपत्यकाको राजनीतिक वातावरण तनावपूर्ण बनेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *