काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) २०७९ को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाण्डू गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्समाथि पाँच विकेटले जीत हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्कशालामा सोमबार सम्पन्न खेलमा जनकपुरले दिएको १३१ रनको सामान्य लक्ष्य काठमाण्डूले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो।
काठमाण्डूको जितमा ओपनर बेन चार्लेस्वर्थले २३ बलमा ४६ रन बनाए, जसमा पाँच चौका र तीन छक्का समावेश थिए। उनका जोडीदार आकाश त्रिपाठीले ३९ रन जोड्दै पहिलो विकेटका लागि ८.१ ओभरमा ७० रनको साझेदारी गरे। यसले काठमाण्डूलाई बलियो सुरुआत प्रदान गर्यो।
मिलिन्द कुमारले १९, जोन सिम्पसनले १३ रन थपे भने आदिल आलम आठ र गेरहार्ड इरास्मस एक रनमा अविजित रहे।
जनकपुरका कप्तान अनिल साह, किशोर महतो, ललित राजवंशी र सञ्जय कृष्णमूर्तिले समान एक–एक विकेट लिए।
जनकपुरले टस हारेर ब्याटिङ थालेको थियो र निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३१ रन बनाउन सफल भयो। ओपनर आसिफ सेखले ४१ बलमा ५४ रन बनाए, जसमा ६ चौका र एक छक्का समावेश थियो। यो एनपीएलमा उनको पहिलो अर्धशतक हो। मयन यादवले ३४ रन र लाहिरु समाराकोनले २२ रन योगदान दिए, जबकि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। कप्तान अनिल साह डक भए।
बलिङतर्फ काठमाण्डूका मिलिन्द कुमारले चार ओभरमा १५ रन खर्चेर तीन विकेट लिए। करण केसी, साहब आलम र सन्तोष यादवले समान एक–एक विकेट लिए।
जनकपुर अब आगामी सोमबार विराटनगर किंग्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ भने काठमाण्डू बुधबार सुदूरपश्चिम रोयल्ससँग भिड्नेछ।




