खेलकुद

फ्लडलाइटको पहिलो खेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि , एनपीएल रंगिन,जनकपुरविरुद्ध काठमान्डुले जित्यो टस

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण कीर्तिपुरमा भव्य तरिकाले सुरु भएको छ। सोमबार त्रिवि क्रिकेट मैदानमाथि उडान गरेको हेलिकोप्टरले पुष्पवृष्टि गरेपछि उद्घाटन समारोह झनै रौनकपूर्ण बनेको थियो।
समारोहमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की विशेष अतिथिका रूपमा उपस्थित भइन् र उद्घाटन खेल पनि अवलोकन गरिन्।

उद्घाटन खेलमा पहिलो संस्करणका विजेता जनकपुर बोल्ट्स र परिमार्जित टोली लिएर उत्रिएको काठमाण्डू गोर्खाज आमनेसामने छन्। टस जित्दै काठमाण्डूका कप्तान करण केसीले फिल्डिङ रोजेपछि जनकपुरले ब्याटिङको शुरुवात गर्ने भएको छ।

यी दुई टोलीबीच एनपीएलमा दोस्रो भेट हो। अघिल्लो संस्करणमा जनकपुरले काठमाण्डूलाई पाँच विकेटले पराजित गरेको थियो। सोही संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुरले उपाधि हात पारेको थियो, जबकि काठमाण्डू पाँचौँ स्थानमा रोकिएको थियो।

आजको खेल अपरान्ह ४ बजेदेखि सुरु हुँदैछ, र यो नेपाली क्रिकेट इतिहासमै फ्लडलाइटमुनि खेलिन लागेको पहिलो खेल हो। यसले एनपीएललाई अन्तर्राष्ट्रिय स्तरको रंगमा प्रस्तुत गरेको क्यानको दाबी छ।

दोस्रो संस्करणमा पनि आठै टोली सहभागी छन्—जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किग्स, चितवन राइनोज, काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स।
मंसिर २७ सम्म चल्ने प्रतियोगितामा ३२ खेल हुनेछ, जसमा ९ खेल दिउँसो र २३ खेल डे–नाइट हुनेछन्।

कीर्तिपुर आज उत्सवझैं सजिएको छ, र फ्लडलाइटको चमकसँगै एनपीएलको दोस्रो संस्करण थप रोमाञ्चक हुने संकेत मिलिसकेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *