काठमाडौं । मधेश प्रदेशमा बढ्दो राजनीतिक विवादले चुलिँदै जाँदा सात दलीय गठबन्धनका सांसदहरू फेरि सडकमा उत्रिए । मुख्यमन्त्री नियुक्ति अस्वीकार गर्दै उनीहरूले आइतबार प्रदेश सभा भवन अगाडि सडकै छेकेर धर्ना दिए।
नेपाली काँग्रेससहित गठबन्धनमा रहेका सात दलका सांसदहरूले सभामुख रामचन्द्र मण्डलमाथि कारबाहीको माग कडा बनाउँदै आएका छन्। शनिबार त उनीहरूले प्रदेश सभा परिसरमै खुला चौरमा वैकल्पिक सभा बैठक पनि संचालन गरेका थिए।
विवादको मूल जड गत २४ कात्तिकमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई ‘सबैभन्दा ठूलो दल’को हैसियतमा मुख्यमन्त्री नियुक्त गरी होटलमै शपथ गराएको निर्णय हो। सो घटनालाई गठबन्धनले असंवैधानिक भन्दै निरन्तर विरोध गरिरहेको छ।
यसैबीच सात दलीय गठबन्धनले मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ। साथै सभामुख मण्डलविरुद्ध महाअभियोग दर्ता गर्दै उनीहरूले राजनीतिक दबाब अझ बढाएका छन्। सांसदहरूको भनाइ छ– “संवैधानिक व्यवस्था विपरीत भएको निर्णय सच्याएसम्म हाम्रो आन्दोलन रोकिँदैन।”



