देश

एमालेमा फर्किएपछि झाँक्री र किसानको प्रतिक्रिया : व्यक्तिगत स्वार्थ होइन, संस्था र देशको परिवर्तनका लागि हातेमालो गरौँ

काठमाडौं । पूर्व समाजवादी नेतृ रामकुमारी झाँक्री र नेता कृष्णकुमार ९किसान० श्रेष्ठ नेकपा एमालेमा पुनः समाहित भएका छन्। सोमबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित ‘घर फर्क अभियान’ कार्यक्रममा दुवै नेताले औपचारिक रूपमा एमाले प्रवेश गरेका हुन्।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको झण्डा र माला लगाएर स्वागत गरेका थिए। सो अवसरमा पार्टीमा फर्किएका नेताहरूले विगतका गल्ती स्वीकार गर्दै एमालेमै देश र जनताको हित सम्भव हुने धारणा व्यक्त गरे।

नेतृ झाँक्रीले आफू कुनै व्यक्तिगत लाभ वा पदका लागि नभई सामूहिक संघर्षको सहयात्री बन्न एमालेमा फर्किएको बताइन्। उनले भनिन्, “सुस्केरा काढ्ने एउटै फलैचामा बसेकै राम्रो हो। मैले कहिल्यै व्यक्तिगत अवसर खोजिनँ, बरु हजारौं पार्टी सदस्यले अवसर निर्माण गर्ने यात्रामा सँगसँगै अघि बढ्न आएको हुँ।”

झाँक्रीले हालको राजनीतिक सन्दर्भमा जेनजी पुस्ताका युवाहरूप्रति पनि अपिल गर्दै भनिन्, “तपाईंहरूले नयाँ पार्टी बनाउन खोज्नुहुन्छ भने शुभकामना छ, तर यदि नबनाउने हो भने एमालेमा आउनुस् — यहाँ चारवटै ढोका खुला छन्।”

उनले जेनजी आन्दोलनलाई “एक पुस्ताको जायज आक्रोश” भन्दै त्यसलाई राजनीतिक लाभका लागि प्रयोग गर्न खोज्ने तत्वहरूबाट सचेत रहन आग्रह गरिन्। त्यस्तै, एमालेमा फर्किएका अर्का नेता कृष्णकुमार (किसान) श्रेष्ठले पार्टी छोड्नु आफ्नो जीवनकै सबैभन्दा ठूलो गल्ती भएको स्वीकार गरे।
उनले भने, “विगतमा विभिन्न कारणले हामी पार्टीबाट टाढा भयौं, तर त्यो हाम्रो जीवनकै ठूलो भूल थियो। यो फर्काइ राजनीतिक मात्र होइन, जनतासँग पुनः भरोसा जोड्ने अभियान हो।”

श्रेष्ठले देशभर एमालेबाट टाढा भएका कार्यकर्ताहरू पनि बिस्तारै पार्टीमा फर्किने विश्वास व्यक्त गरे।
राष्ट्रिय सभा गृहमा आयोजित उक्त कार्यक्रममा विभिन्न प्रदेश र जिल्लाबाट सयौं नेता तथा कार्यकर्ता ‘घर फर्क अभियान’ मार्फत एमालेमा पुनः समाहित भएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *