काठमाडौं । हालै एकताको घोषणा गरेका १० वाम घटकका नेताहरू दल दर्ताका लागि आइतबार निर्वाचन आयोग पुगेका छन्। उनीहरूले नयाँ एकीकृत दल ‘नेपाली कम्युनिष्ट पार्टी’ को रूपमा औपचारिक दर्ता प्रक्रिया अघि बढाएका हुन्।
पार्टी एकता घोषणापछि तयार पारिएका सबै आवश्यक कागजातसहित नेता वर्षमान पुन, देव गुरुङ, राजेन्द्र पाण्डे लगायतका शीर्ष नेताहरू आयोगमा पुगेका थिए। उनीहरूले आयोगमा दल दर्ताको लागि औपचारिक निवेदन पेश गर्दै नयाँ राजनीतिक यात्राको सुरुवात भएको बताएका छन्।
यसअघि माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत १० वामपन्थी घटकले संयुक्त रूपमा पार्टी एकता घोषणा गरेका थिए। एकताको उद्देश्य वामपन्थी आन्दोलनलाई संस्थागत बनाउँदै आगामी निर्वाचनमा साझा मोर्चा निर्माण गर्ने रहेको बताइएको छ।
नेकपाले कात्तिक २० गते नै दल दर्ताका लागि प्रारम्भिक निवेदन दिइसकेको थियो भने आजको उपस्थितिले प्रक्रिया औपचारिक रूपमा अघि बढेको आयोगका एक अधिकारीले जनाए।
नेताहरूले दल दर्ता पछि देशव्यापी सदस्यता अभियान र राजनीतिक कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको बताउँदै नयाँ दललाई “वाम एकताको साझा मंच”का रूपमा प्रस्तुत गर्ने घोषणा गरेका छन्।



