काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी हत्या आरोपमा पक्राउ परेका पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने सात जना अझै हिरासतमा राखिएको छ। पक्राउ परेकामध्ये होमप्रसाद पौडेल, टिकाराम विक, युवराज क्याप्छाकी, सोनाम तामाङ र अनुयम भण्डारीलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
उनीहरू प्रहरी वृत्त महाराजगञ्जका असई मिलन राय, प्रहरी जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार अमृत गुरुङको हत्या आरोपमा पक्राउ परेका थिए। असई रायको हत्या आरोपमा सिन्धुपाल्चोक घर भएका ६२ वर्षीय होमप्रसाद पौडेल र उदयपुर घर भएका २८ वर्षीय टिकाराम विक कारागार चलान भएका छन्। प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा काभ्रेका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरका २१ वर्षीय सोनाम तामाङ कारागार चलान भएका छन्। सहायक हवल्दार अमृत गुरुङको हत्या आरोपमा कैलालीका १९ वर्षीय अनुयम भण्डारी पनि कारागार पठाइएका छन्।
भण्डारीले क्रिकेट प्रशिक्षणका क्रममा काठमाडौंदेखि भारतसम्म तालिम लिएका थिए। उनीहरू २४ भदौमा भएको जेनजी आन्दोलनको दिन हत्या गरेका थिए।एसपी भट्टराईका अनुसार हिरासतमा रहेका सात जनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। हिरासतमा रहेका व्यक्तिहरूमा सोम गुरुङ, राजिव गुरुङ, युनिक श्रेष्ठ, सुमित तितुङ, दीपक मगर, अलिश श्रेष्ठ र सौरभ तामाङ छन्। केही दिनभित्रै उनीहरूविरुद्ध मुद्दा दर्ता हुने तयारी भइरहेको छ।
जेनजी आन्दोलनमा समग्रमा ३ प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो।



