काठमाडौं । नेपाल प्रहरीका पाँच वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा भएका छन्। गृहमन्त्रीस्तरीय निर्णयअनुसार उनीहरूलाई सोमबार नै पदस्थापन समेत गरिएको छ।
बढुवा सूचिमा रहेका एसएसपी भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले डीआईजीमा पदोन्नति भएका हुन्। गृह मन्त्रालयले जारी गरेको निर्णयअनुसार, बढुवा भएका अधिकृतहरूलाई तत्काल प्रभावका साथ जिम्मेवारी तोकिएको छ।
पदस्थापन विवरणअनुसार, डीआईजी भूपेन्द्र खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखको जिम्मेवारी दिइएको छ। डीआईजी सानुराम भट्टराई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा, ओम अधिकारीलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा, शेखर खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, र अविनारायण काफ्लेलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गरिएको छ।
उनीहरूलाई कार्तिक ९ गते बढुवाका लागि सिफारिस गरिएको थियो। तर, बढुवा सिफारिस सूचीमा पहिलो नम्बरमा रहेका एसएसपी विश्व अधिकारी भने यसपटक बढुवाबाट वञ्चित भएका छन्। स्रोतका अनुसार बढुवा र पदस्थापन प्रक्रिया प्रहरी संगठनभित्रको नियमित सरुवा–बढुवाको क्रमसँग सम्बन्धित रहेको छ।



