काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्रालय मातहतका सबै निकायका बैठकहरू सार्वजनिकरूपमा प्रसारण (लाइभ०)गर्ने निर्णय गरेका छन्। आइतबार शपथग्रहणपछि मन्त्रालयमा पदभार सम्हाल्दै उनले पारदर्शिता र जवाफदेहिताको नारा अघि सार्दै पहिलो निर्णयका रूपमा यो व्यवस्था गर्न निर्देशन दिएका हुन्।
मन्त्री गुप्ताले खेल क्षेत्रलाई राजनीति–रहित, पारदर्शी र उत्तरदायी बनाउने प्राथमिकता तय गरेका छन्। “अब खेलकुदका सबै निर्णय जनता सामु खुला हुनेछन्,” उनले पदभार ग्रहणपछि भने, “सार्वजनिक निगरानी नै सुधारको पहिलो कदम हो।”
उनको निर्णयअनुसार मन्त्रालय मातहतका परिषद्, खेलकुद विकास समिती, संघ–संस्थाका औपचारिक बैठकहरू अब डिजिटल माध्यमबाट प्रत्यक्ष हेर्न सकिनेछन्। यसका लागि मन्त्रालयले आवश्यक प्राविधिक पूर्वाधार तयार गर्ने तयारी गरेको छ।
मन्त्री गुप्ताको यो कदमलाई खेलकुद क्षेत्रमा ‘नयाँ पारदर्शी अभ्यास’को सुरुवातका रूपमा लिइएको छ। विभिन्न खेल संघहरूमा बढ्दो विवाद र निर्णय प्रक्रियामा देखिएको अपारदर्शितालाई कम गर्ने उद्देश्यले उनले यस्तो निर्णय लिएको बताइएको छ।
गुप्ताले भने, “खेल प्रशासनमा खुलापन र जनविश्वास पुनःस्थापना गर्न यो हाम्रो पहिलो प्रयास हो।”




