काठमाडौं । जेनजी आन्दोलनका क्रममा महाराजगन्जमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेर दुई प्रहरीको हत्या गरेको आरोपमा प्रहरीले थप पाँच जना पक्राउ गरेको छ। गत आन्दोलनको बेला असई मिलन राय र जवान उत्तम थापाको मृत्यु भएपछि यो घटना सुरक्षा संयन्त्रभित्र ‘राज्यविरुद्धको प्रत्यक्ष आक्रमण’का रूपमा लिइएको छ।
प्रहरीका अनुसार हाल पक्राउ परेका पाँच जनामध्ये गोरखा घर भएका २१ वर्षीय सोम गुरुङ, तनहुँ घर भएका २१ वर्षीय राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर रहेका छन्। ती सबैलाई हाल काठमाडौँको भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिएको छ।
प्रहरी अनुसन्धानले देखाएको प्रारम्भिक निष्कर्षअनुसार उनीहरूले समूह बनाएर प्रहरीमाथि समन्वित आक्रमण गरेका थिए। असई राय र जवान थापामाथि ‘हतियारसहितको भीड’ले निर्मम कुटपिट गरेको र त्यसैका कारण उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यसअघि नै यस घटनामा संलग्न चार जना पक्राउ भई पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। ती हुन् — युवराज क्याप्छाकी, सोनाम तामाङ ९बुद्धिलाल थिङ०, होमप्रसाद पौडेल र टिकाराम विक। काठमाडौँ जिल्ला अदालतको आदेशपछि उनीहरूलाई कारागार पठाइएको हो।
प्रहरीको विस्तृत अनुसन्धान अनुसार काभ्रेको रोशी गाउँपालिका घर भई बालुवाटार बस्ने २८ वर्षीय क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ घर भई चन्द्रागिरी बस्ने २१ वर्षीय थिङले जवान थापामाथि प्रहार गरेका थिए। त्यस्तै, सिन्धुपाल्चोकका ६२ वर्षीय पौडेल र उदयपुरका २८ वर्षीय टिकाराम विकले असई रायमाथि आक्रमण गरेको ठहर प्रहरीले गरेको छ।
काठमाडौँ प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार नयाँ पक्राउ परेकाहरू विरुद्ध थप प्रमाण संकलन भइरहेको छ र पूरक अनुसन्धान प्रतिवेदन तयारीको अन्तिम चरणमा पुगेको छ। उनका अनुसार, “यो केवल आकस्मिक भीडको आक्रमण होइन, योजनाबद्ध हिंसात्मक हमला थियो भन्ने प्रमाणहरू थप स्पष्ट हुँदै गएका छन्।”
असई राय र जवान थापाको हत्या घटनालाई जेनजी आन्दोलनको सबैभन्दा ‘अन्धकारमय मोड’को रूपमा लिइएको छ। आन्दोलनको मूल उद्देश्यबाट हिंसात्मक विचलनले न त आन्दोलनका नेतृत्वकर्ताहरूको नैतिक दाबीलाई मजबुत बनायो, न त न्याय र सुधारको भाषालाई नै बलियो।
सुरक्षा विश्लेषकहरू भन्छन् — प्रहरीमाथिको आक्रमण केवल व्यक्तिगत अपराध होइन, राज्य संयन्त्रमाथिको चुनौती हो। “राजनीतिक असन्तुष्टि हिंसामा रूपान्तरण हुँदा नागरिक आन्दोलनको नैतिक जग कमजोर हुन्छ,” एक पूर्व प्रहरी अधिकृतले टिप्पणी गरे, “अहिलेको प्रश्न भनेको — यस्ता अपराधमा राजनीतिक जोगिने कवच कसले बनाइरहेको छरु”
महाराजगन्ज प्रकरणले फेरि एकपटक देशमा कानूनको सर्वोच्चता र आन्दोलनको जिम्मेवारीबारे गहिरो बहस जन्माएको छ। प्रहरीले थप अनुसन्धानपछि मुद्दा अदालतमा पठाउने तयारी गरेको बताइएको छ।




