देश

जेनजी, दल र राजसंस्थाबीच त्रिपक्षीय समझदारीपछि मात्रै निर्वाचनमा जाऔं : राप्रपा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बालुवाटारमा बसेको सर्वदलीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशलाई स्थायित्व दिलाउन राजसंस्थासहितको त्रिपक्षीय समझदारीको प्रस्ताव अघि सारेको छ। विघटित प्रतिनिधिसभाको पाँचौँ ठूलो दलका रूपमा सहभागी राप्रपाले पहिलोपटक औपचारिक रूपमा “राजसंस्था, राजनीतिक दल र जेनजी आन्दोलन” बीच नयाँ समझदारीको खाका प्रस्तुत गरेको हो।

बैठकमा सहभागी राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार, जेनजी विद्रोहले ल्याएको अस्थिर अवस्थालाई दीर्घकालीन समाधानमा रूपान्तरण गर्न अहिलेको अन्तरिम अवधिलाई अवसरका रूपमा उपयोग गर्नुपर्ने पार्टीको धारणा बैठकमा प्रस्तुत गरिएको हो।

श्रेष्ठले भने, “राप्रपाको तर्फबाट हामीले सुझाव दिएका छौं कि, देशले विगतका गल्ती सच्याउने ऐतिहासिक मौका अहिले पाएको छ। त्यसका लागि परिवर्तनको शक्ति जेनजी, परम्परागत शक्ति राजसंस्था, र राजनीतिक दलबीच निर्वाचन अगावै समझदारी आवश्यक छ।”

उनका अनुसार, यस्तो समझदारीले मात्र देशलाई दिगो राजनीतिक बाटोतर्फ लैजान सक्ने र हिंसा तथा अस्थिरताको चक्र तोड्न सकिने विश्वास पार्टीको छ।

सर्वदलीय बैठकमा राप्रपाको तर्फबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता श्रेष्ठ सहभागी थिए। बैठकमा अन्य दलहरूले पनि देशको सुरक्षा, राजनीतिक संवाद र आगामी निर्वाचनको सम्भावनाबारे आ–आफ्नो मत राखेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *