देश

इनोभेसन’ बाट ‘मन्त्री पद’ सम्म : महावीर पुनको नयाँ यात्रा

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रमार्फत दशकौँसम्म अनुसन्धान र प्रविधिमा योगदान गरेका महावीर पुन अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन्। उनलाई मन्त्रीमा सिफारिस भएपछि शुभकामना दिने फोन नगर्न आग्रह गर्दै पुनले सामाजिक सञ्जालमार्फत आफूलाई ‘कबाडी वैज्ञानिक मन्त्री’ भन्न सकिने व्यंग्यात्मक टिप्पणीसमेत गरे।

पुनले जीवनको लामो समय इनोभेसनमै बिताए। स्वास्थ्य, शिक्षा, कृषि र प्रविधि जस्ता क्षेत्रलाई नयाँ दिशा दिने काम उनले निरन्तर गर्दै आएका छन्। विशेषगरी गाउँ–गाउँमा इन्टरनेट पुर्‍याउने अभियानले उनलाई अन्तर्राष्ट्रिय स्तरमै परिचित बनायो। यही योगदानका लागि उनलाई ‘रोमन म्यागसेसे पुरस्कार’सहित ‘इन्टरनेट हल अफ फेम’ र ‘जोनाथन बी पोस्टल अवार्ड’जस्ता प्रतिष्ठित सम्मान प्राप्त भएका छन्।

गाउँदेखि विश्वसम्मको यात्रा

म्याग्दीको नाङ्गीमा २०११ सालमा जन्मिएका पुनले विद्यालय पढाइ गाउँमै सुरु गरे। उच्च शिक्षा अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट प्राप्त गरेपछि पनि उतै बस्ने अवसर हुँदाहुँदै उनी नेपाल फर्किए र गाउँमै शिक्षा तथा सामाजिक अभियान थालनी गरे। उनले शैक्षिक सुधार, मौरी पालनदेखि ताररहित इन्टरनेट विस्तारसम्मका परियोजना सफलतापूर्वक अघि बढाए।

राष्ट्रिय आविष्कार केन्द्र र महामारीकालीन योगदान

सन् २०१२ मा उनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरे। यही केन्द्रमार्फत पुनले स्वास्थ्य उपकरण, ड्रोन, कृषि औजारदेखि शिक्षा सामग्रीसम्म विकास गराए। कोभिड महामारीताका भेन्टिलेटर अभाव हटाउन बिग्रेका मेसिन मर्मतसमेत गरे।

तर, राज्यले विज्ञान र अनुसन्धानलाई प्राथमिकतामा नराखेको गुनासो उनी निरन्तर गर्छन्। यही कारण उनले पुरस्कार र मेडल बेचेर समेत आफ्नो अभियानलाई निरन्तरता दिएका छन्।

नयाँ भूमिकामा पुन

हालै सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले पुनलाई मन्त्रीको जिम्मेवारी दिएको छ। अब उनी लामो समय अभ्यास गर्दै आएको क्षेत्रमा नीतिगत नेतृत्व पाउने भएका छन्। तर, अनुसन्धान र इनोभेसनलाई सरकारी तहबाट कस्तो सहयोग दिलाउन सक्छन् भन्ने सवाल भने उनका लागि ठूलो चुनौती बन्ने देखिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *