काठमाडौं । काठमाडौंको सुन्धारा क्षेत्रमा बुधबार युवाहरूबीच झडप भएको छ। नयाँ अन्तरिम सरकार गठनको दाबी गर्दै विभिन्न समूहहरू सुन्धारामा भेला भएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा पछि मुलुक सरकारविहीन अवस्थामा पुगेको छ। नेपाली सेनाले कमाण्ड सम्हाल्दै युवाहरूको विभिन्न समूहसँग छलफल सुरु गरेपछि विवाद उत्पन्न भएको हो।
बुधबार जंगीअड्डा गेटमा सेनाले समूहका ‘लिडर’ को नाम र फोन नम्बर टिपेर बिहीबार बिहान सम्पर्कमा आउन निर्देशन दिएको थियो। तर फरक–फरक समूहहरूले आफ्ना सिफारिस लिएर पुगेपछि मतभेद बढ्यो र टकरावको अवस्था सिर्जना भयो।
अन्तरिम सरकारको प्रमुख नियुक्ति कसरी गर्ने भन्ने विषयमा विभिन्न समूहले शुशीला कार्की, बालेन शाह, कुलमान घिसिङ र हर्क साम्पाङको नाम अघि सारेका थिए। तर एक अर्काका सिफारिस अस्वीकार हुँदा विवाद गहिरो भयो।
नेपाली सेनाले जंगीअड्डा परिसरमा भिड जम्मा हुन नदिँदा युवाहरू सुन्धारा क्षेत्रमा भेला हुन थालेका हुन्। हाल पनि युवा समूहहरूबीच अस्थिरता र तनावको अवस्था कायम रहेको छ।




