काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई कुनै पनि नेतृत्वको मोह नभएको बताएका छन्। बुधबार ९२५ भदौ० प्रधानसेनापति अशोकराज सिग्देलसँगको छलफलपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्पष्ट विचार व्यक्त गरे।
प्रसाईंले भने, “प्रधानसेनापति सिग्देलज्यूसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भयो। यस लामो छलफलपछिको मेरो निष्कर्ष स्पष्ट छ– मलाई नेतृत्वको मोह छैन। देशलाई जसरी निकास मिल्छ, त्यही मेरो प्राथमिकता हो।”
उनले जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै, “बालेन वा सुशीला कार्की, जोसुकै तयार छन् भने म उनीहरूको नेतृत्व स्वीकार गर्न तयार छु। तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर भाग्नु मेरो स्वभाव होइन।”
प्रसाईंले वर्तमान परिस्थितिमा सस्तो राजनीति वा टीकाटिप्पणीमा लाग्ने होइन भनी स्पष्ट पारेका छन्। उनले जोड दिए, “अब चाहिएको कुरा– गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटोको खोज हो। सहज निकासका लागि सबैको साथ र सुझाव अपरिहार्य छ। यो हाम्रो पुस्ताको मात्र होइन, सम्पूर्ण राष्ट्रको भविष्यको प्रश्न हो।”
साथै, उनले भावनाभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा पर सोचेर, देशलाई बाँच्ने बाटो देखाउने साझा जिम्मेवारी पूरा गर्नुपर्ने समय आएको पनि बताए।





