काठमाडौं । महाराजगञ्जस्थित प्रहरी वृत्तमा मंगलबार भएको आगजनीका क्रममा ज्यान गुमाएका तीन सुरक्षाकर्मीको परिचय खुलेको छ।
प्रहरी स्रोतका अनुसार, मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, वरिष्ठ हवल्दार पवित्रा गौली र जवान उत्तम थापा रहेका छन्।
‘जेनजी’ प्रदर्शनकारीहरूले प्रहरी वृत्तमा आगजनी गर्दा ती प्रहरीहरू धुवाँ र आगोको बीचमै फस्दा निसास्सिएर मृत्यु भएको बताइएको छ। घटनास्थलमा तत्काल उद्धार सम्भव नभएपछि अन्य केही प्रहरीलाई भने सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो।
मृतक प्रहरीहरूको नाम सार्वजनिक भएपछि प्रहरी संगठनभित्र आक्रोश बढेको छ। विश्लेषकहरूका अनुसार, यसरी सुरक्षाकर्मी नै लक्षित हुन थालेको घटनाले आन्दोलन साधारण प्रदर्शन नभई हिंसात्मक रूप लिँदै गएको स्पष्ट देखाएको छ।




