देश

दुर्गा प्रसाईँसँगको भेटपछि जेनजी भन्छन, ‘हाम्रो आन्दोलन स्वतन्त्र छ’

काठमाडौं । जेनजीले घोषणा गरेको आन्दोलनको अघिल्लो दिन केही युवा दुर्गा प्रसाईँको घरमा पुगेको विषयले आन्दोलनभित्र नै तरंग ल्याएको छ।

प्रसाईँले उनीहरूसँग खिचेको सामूहिक तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै, जेनजीका संयोजक भाइबहिनीलाई आफ्नै निवासमा स्वागत गर्ने अवसर पाएको र सार्थक संवाद भएको दाबी गरेका थिए। उनले पाँच वर्षदेखि उठाउँदै आएको मुद्दा र जेनजीको माग साझा र दीर्घकालीन भएको उल्लेख गरेका थिए।

तर, यो दाबीलाई जेनजीभित्रका अन्य युवाले अस्वीकार गरेका छन्। उनीहरूले भिडियोमार्फत असन्तुष्टि जनाउँदै तस्बिरमा देखिएका युवाहरू ‘संयोजक’ नभएको स्पष्ट पारेका छन्।

तस्बिरमा देखिएका युवामध्ये मिरोज ढुंगानाले टिकटकमार्फत प्रतिक्रिया दिँदै प्रसाईँको घर गएको स्वीकार गरेका छन्। तर, उनले भेटलाई प्रसाईँले आफ्नो स्वार्थअनुसार प्रचार गरेको आरोप लगाएका छन्। ढुंगानाले भने, “हामीले उहाँलाई भेटेर मात्र यो युवाहरूको आन्दोलन हो भन्ने अनुरोध गरेका थियौँ। उहाँले आफ्नै ढंगले लेख्नुभयो, त्यसले मलाई दुःख दियो।”

ढुंगानाको उक्त भिडियो अहिले उनको प्रोफाइलमा भेटिँदैन।

यसअघि प्रसाईँले आफू जेनजी आन्दोलनमा सहभागी हुने इच्छा व्यक्त गरेका थिए। तर, आन्दोलनकारी युवाहरूले विरोध गरेपछि उनले अग्रजहरूलाई फोन गरेर, “म आउँदिन है भाइ हो” भन्दै पछि हटेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *