काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिका–४ दर्शनटारस्थित दर्शनटार कृषि सहकारी संस्थाबाट पालिकाअध्यक्षको सचिवालयमा कार्यरत कर्मचारीमाथि साढे तीन लाख रुपैयाँ हिनामिनाको आरोप लागेको छ।
आइतबार नेकपा एमाले तारकेश्वर गाउँ कमिटीले विज्ञप्ति जारी गर्दै सचिवालयका कर्मचारी मधु अधिकारीले सहकारीको रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो।
विज्ञप्तिमा उल्लेख छ — “दर्शनटार कृषि सहकारी संस्थाबाट रु। ३,५०,००० (अक्षरुपी तीन लाख पचास हजार रुपैयाँ) हिनामिना गरिएको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।”
साथै, विज्ञप्तिमा मधु अधिकारी गत वर्ष तारकेश्वर महादेव मन्दिर (तारुकाघाट) को जग्गा प्रकरणमा समेत रु ३ लाख असुल गरेको आरोप पनि उल्लेख गरिएको छ। पार्टीले पालिकामा भइरहेको अनियमितता र अपारदर्शिताप्रति सम्बन्धित निकायलाई छानबिनको माग गरेको छ।





