देश

सिन्धुलीको बेपत्ता मोड : हायू परिवारकी सुजता प्रहरी सम्पर्कमा

काठमाडौं । सिन्धुलीको गोलान्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएको भनिएको हायू परिवारको प्रकरणमा नयाँ मोड आएको छ। तीन महिनादेखि उनी काठमाडौं बस्दै आएकी परिवारकी माइली छोरी सुजता हायू प्रहरी सम्पर्कमा आएकी छिन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार सुजता राजधानी काठमाडौंमा रहेको अवस्थामा प्रहरीसँग सम्पर्कमा आएकी हुन्। प्रहरीको सूचीअनुसार बेपत्ता भनिएका १६ जना सदस्यमध्ये सुजताको नाम पनि उल्लेख थियो।

प्रहरीसँग भएको प्रारम्भिक बयानमा सुजताले आफू तीन महिनादेखि काठमाडौंमै बसिरहेको र परिवारका अन्य सदस्यहरूसँग कुनै सम्पर्क नभएको बताएकी छन्। उनले परिवार हराएको समाचारपछि आफूले पनि उनीहरूलाई खोज्न प्रहरीसँग सम्पर्क गरेको जानकारी दिएकी छन्।

यो घटनाले सिन्धुलीको हायू परिवार बेपत्ता प्रकरणमा गम्भीर प्रश्नहरू जन्माएको छ। एकातर्फ प्रहरीको सूचीमा बेपत्ता भनिएकी युवती राजधानीमै सुरक्षित भेटिनु अनुसन्धानको कमजोरी वा समन्वयको अभाव त होइन ?अर्कातर्फ, बाँकी १५ जना सदस्यको अवस्था अझै अज्ञात हुँदा यो घटनालाई रहस्यमय बनाएको छ।

सुजताले परिवारका सदस्यहरूको खोजी गरिदिन अनुरोध गरेकी छन्। तर प्रहरीले अझै बाँकी सदस्यहरूको खोजीमा के कति प्रगति गरेको हो भन्नेमा प्रष्ट जानकारी दिएको छैन। हायू परिवारको बेपत्ता प्रकरण अब केवल मानवीय संकट मात्र होइन, प्रहरी अनुसन्धानको विश्वसनीयताको पनि परीक्षा बनिरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *