काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास आयोजनाहरूमा समय, पारदर्शिता र जनसरोकार सुनिश्चित हुने गरी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
सोमबार देउखुरीमा आयोजित भौतिक पूर्वाधार विकास मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठक तथा आर्थिक वर्ष २०८१र८२ को प्रगति समीक्षा कार्यक्रममा मुख्यमन्त्री आचार्यले बोलेका हुन्। उनले विकास योजनाहरू जनताले सिधै अनुभूति गर्न सक्ने गरी अघि बढाउनुपर्नेमा जोड दिए।
“ठेक्का प्रक्रिया ढिला गरेर बजेट फ्रिज हुने अवस्था आउन दिनु हुँदैन,” उनले भने, “जनघनत्व र दीर्घकालीन उपयोगिता हेरेर योजना छनोट गर्नुपर्छ। देखावटी योजनाभन्दा जनताको आवश्यकतामा आधारित काम गर्न जरुरी छ।”
मुख्यमन्त्री आचार्यले बहुवर्षीय योजनालाई प्राथमिकता दिनुका साथै समपूरक, विशेष र सशर्त अनुदानको बजेट चाँडै कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औंल्याए। उनले कालोपत्र सडकभन्दा ढलान सडक प्राविधिक हिसाबले बढी टिकाउ र उपयुक्त भएको बताउँदै त्यसलाई प्राथमिकतामा राख्न निर्देशन दिए।
भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले पनि कार्यक्रममा बोल्दै सरकारको सडक गुरुयोजना र बजेटअनुसार योजना कार्यान्वयनमा जोड दिइने जानकारी दिए। मुख्यमन्त्रीको निर्देशनसँगै लुम्बिनी प्रदेशमा विकास योजनाहरू छिटो कार्यान्वयन र गुणस्तरीय बनाउने अपेक्षा गरिएको छ।




