काठमाडौं । प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४२ औँ स्मृति दिवसको अवसरमा आज यहाँ ‘बिपी आत्मवृत्तान्तका कथा/अकथा’ पुस्तक सार्वजनिक गरिएको छ ।
साहित्यकार भुवन ढुङ्गानाद्वारा लिखित सो पुस्तक बिपीका पुत्र एवं नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइराला, पूर्व राजदूत एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा केदारभक्त माथेमा, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसी, वरिष्ठ पत्रकार किशोर नेपाललगायतले संयुक्त रुपमा सार्वजनिक गरे ।
पुस्तक सार्वजनिक गर्दै नेता कोइरालाले आफ्नो जीवनको एउटा घटनाबाट बिपीलाई राम्रोसँग चिन्ने अवसर पाएको सुनाए । ‘माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गर्दा मेरो ७५ प्रतिशत अङ्क आएको थियो, बिपीका नजिकका एक साथीको छोरीको ४५ प्रतिशत मात्र आएको थियो, उच्च शिक्षा अध्ययनको छात्रवृत्तिका लागि म र उहाँको साथीका छोरीमध्ये बिपीले ४५ प्रतिशत मात्र अङ्क ल्याउनेलाई छनोट गरेपछि मलाई अन्याय भयो भनी बाबासँग गुनासो गरेँ, उहाँले तँ बिपीको छोरो होस् तैँले यस्ता सयौँ अवसर पाउँछस्, ती छोरीले पाउने यो नै एउटा अवसर हो, अब भन् न्याय भयो कि अन्याय ? भनेपछि नै मैले बिपीलाई राम्रोसँग चिनेँ’, उनले भने ।
राजनीतिमा मानिसले यस्तो होस् भनेर सोचिरहे पनि त्यस्तो नहुने गरेको उल्लेख गर्दै नेता कोइरालाले राजनीतिको बाटोमै रमाउनेले मात्र यसमा अडिरहन सक्ने भनाइ राखे । ‘वि.सं २०१७ पुस १ गतेको घटनापछि हामीले बिपीलाई सुन्दरीजल बन्दीगृहमा भेट्दा पनि हाम्रो पठनपाठनको चिन्ता गर्नुहुन्थ्यो, छोरा छोरीले राम्रो पढुन् भन्ने उहाँको चाहना थियो,’ उनले भने ।
शिक्षाविद् माथेमाले बिपीको आत्मवृत्तान्तबाट पात्र निकालेर बनाइएको कथामा लेखकको मौलिकता रहेको बताए ।
कुनै पुस्तकका पात्र निकालेर बनाइएको कथाको सो पुस्तक नेपाली साहित्यमा नयाँ प्रयोग भएको समेत उनको भनाइ छ । पुस्तक सानो भएपनि यसमा धेरै कुरा समेटिएकाले पठनीय रहेको शिक्षाविद् माथेमाले बताए ।
लेखक ढुङ्गानाले २०५५ सालमा बिपीको आत्मवृत्तान्त प्रकाशन भएपछि पढेको उल्लेख गर्दै आफ्ना पिता विष्णुप्रसाद कोइरालाको संस्मरण पढेदेखि यस विषयमा लेख्ने सोच बनाएको सुनाए । बिपीको जीवन, आदर्श र सङ्कल्पलाई चिनाउन पुस्तक पर्याप्त हुने उनको भनाइ छ ।
राजनीतिक विश्लेषक केसीले बिपी कोइराला विगत ५० वर्ष अघिदेखि चर्चा भइरहने राजनीतिक व्यक्तित्वका रूपमा स्थापित भएको बताए । राजनीतिमा बिपीलाई पुनर्ताजगी दिन पुस्तक सफल रहेको उनको बुझाइ छ ।
पुस्तक प्रकाशक संस्था न्यूरोड बुक स्टोरका सञ्चालक राजेश गजुरेलले संस्थाको पहिलो कृतिका रुपमा बिपीको पुस्तक प्रकाशन गरेको र आगामी दिनमा यस्ता कृति प्रकाशनमा निरन्तरता दिने प्रतिबद्धता जनाए । १११ पृष्ठको पुस्तकमा २१ शीर्षकमा कथा लेखिएका छन् ।




