काठमाडौं । शैक्षिक सुधारका मागसहित विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) का दर्जनौँ नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेपछि संघले कडा आपत्ति जनाएको छ। नेविसंघले शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरेर विद्यार्थी नेताहरूलाई गिरफ्तार गर्नु अत्यन्तै निन्दनीय भएको बताउँदै अविलम्ब रिहाइको माग गरेको छ।
नेपाल कमर्श क्याम्पसअगाडि भएको प्रदर्शनमा हस्तक्षेप गर्दै प्रहरीले केन्द्रीय सदस्य, क्याम्पस इकाई अध्यक्ष, स्ववियु नेतालगायत थुप्रै विद्यार्थीलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा नेविसंघ काठमाडौँ जिल्ला अध्यक्ष अनसुल केसी, कमर्श क्याम्पस इकाई अध्यक्ष सरोज तिमिल्सिना, त्रिवि केन्द्रीय क्याम्पसका पूर्व सभापति श्यामराज ओझा, चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी सङ्गठनका अध्यक्ष महेन्द्र खड्का, उत्सव देवकोटा, पृथ्वीजंग थापा, रन्चिर विष्ट, एलेक्स सिंघानिया लगायत छन्।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षक नियुक्ति खुला प्रतिस्पर्धाबाट हुनुपर्ने, र विद्यार्थीको प्रतिनिधित्व विना गरिने सिनेट बैठक अमान्य हुने जस्ता मागहरू शान्तिपूर्ण रूपमा उठाउँदै गर्दा प्रहरीले धरपकड गर्नु लोकतान्त्रिक मूल्यविपरीत हो।”
संघले पक्राउ परेकाहरूलाई बिना सर्त तुरुन्त रिहा गर्न सरकारलाई चेतावनी दिँदै लोकतान्त्रिक आन्दोलनलाई दमन गरेर दबाउन खोजे थप कडा आन्दोलनको बाटो रोजिने स्पष्ट पारेको छ। सरकार र सुरक्षानिकायको रवैयाप्रति विद्यार्थी संघको तीव्र असन्तुष्टि बीच अब आन्दोलन चर्किने संकेत देखिएको छ।




