देश

जनमत पार्टीको आन्तरिक विवाद उग्र : निष्कासित नेताको आरोप– “हाम्रो ज्यान लिने योजना बनाइएको थियो”

काठमाडौं । जनमत पार्टीभित्रको आन्तरिक विवाद हिंसात्मक रूप लिँदै गएको छ। आइतबार बारामा पार्टीका निष्कासित उपाध्यक्ष इञ्जिनियर दीपक कुमार साह, कोषाध्यक्ष सुरेन्द्र यादव र केन्द्रीय सदस्य वीरेन्द्र साह सुनारमाथि प्रज्वलनशील पदार्थ प्रहारसहित कालोमोसो छ्यापिएको घटनाले पार्टीभित्रको तनाव झनै चुलिएको छ।

घटनाको नेतृत्व पार्टी अध्यक्ष डा. सीके राउत निकट केन्द्रीय सदस्य विकास सिंहले गरेको आरोप लगाइएको छ। आक्रोशित समूहले दहियारस्थित कार्यक्रमस्थलतर्फ जाँदै गरेका निष्कासित नेताहरूको गाडी घेराबन्दी गरी हमला गरेको देखिने भिडिओ सार्वजनिक भएको छ।

“हाम्रो ज्यान लिने प्रयास भयो” – दीपक साह
इञ्जिनियर साहले आफूहरूमाथि ज्यान लिने उद्देश्यले पार्टीभित्रकै गुण्डा परिचालित गरिएको गम्भीर आरोप लगाए। “हामी डराएर भाग्ने होइन, यो अभियान मृत्युको साक्षीमा सुरू गरेका हौं,” उनले भने। “जनतालाई डा। सीके राउतका वास्तविक कर्तुतहरू बुझ्न आग्रह गर्छौं।”

उनले पार्टीको भित्री भ्रष्टाचार, दमन र स्वेच्छाचारिता विरुद्ध ‘जनसंवाद यात्रा’ थालेको र यही क्रममा आक्रमण भएको बताए। आक्रमणको विषयमा प्रतिक्रिया दिँदै विकास सिंहले भने, निष्कासित नेताहरूले पार्टीविरुद्ध काम गरिरहेका कारण कारबाहीस्वरूप कालोमोसो छ्यापिएको हो। “उनीहरूले पार्टी फुटाउन खोजे, कार्यकर्तालाई गुमराहमा पारे,” सिंहले भने।

सार्वजनिक भिडियोमा देखिन्छ—साह, यादव र सुनार सवार गाडीलाई झण्डै १०–१२ जनाको समूहले घेरिएको छ र कालोमोसो छ्यापिएको छ। साथै, “दीपक साह मुर्दावाद” जस्ता नाराहरू पनि सुन्न सकिन्छ। जनमत पार्टीको अन्तरविरोध संगठनभित्र सीमित नरही हिंसात्मक प्रदर्शनमा परिणत हुनुले दलभित्रको आन्तरिक लोकतन्त्र र सहिष्णुतामाथि प्रश्न उठाएको छ। यस्तो परिस्थितिमा नेतृत्वले कानुनी प्रक्रिया र राजनीतिक संयमता दुवै अपनाउन जरुरी देखिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *