देश

स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान उजागर गर्‍योः परराष्ट्र मन्त्रालय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न स्पेन भ्रमणले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र छविमा सकारात्मक प्रभाव पारेको परराष्ट्र मन्त्रालयले जनाएको छ। शुक्रबार साँझ प्रधानमन्त्री स्वदेश फर्किएसँगै परराष्ट्र सचिव अमृत राईले प्रेस नोट सार्वजनिक गर्दै भ्रमणले “नेपालको कूटनीतिक सञ्जाललाई थप सुदृढ बनाएको” बताएका हुन्।

ओलीले सेभिया शहरमा आयोजित “विकासका लागि वित्त” विषयक संयुक्त राष्ट्रसंघको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएका थिए। उक्त सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपालका विकास चुनौती र प्राथमिकताका विषयमा धारणा राख्नुका साथै विभिन्न मुलुकका नेताहरूसँग औपचारिक भेटघाटसमेत गरेका थिए।

परराष्ट्र सचिव राईका अनुसार, प्रधानमन्त्रीको भ्रमणका क्रममा स्पेन, स्टोनिया, पोर्चुगल, इजिप्टलगायत देशहरूसँगको द्विपक्षीय सम्बन्ध अझ बलियो भएको छ। “यो भ्रमणले नेपाल–संयुक्त राष्ट्र सम्बन्धमा पनि सकारात्मक सन्देश प्रवाह गरेको छ,” उनले बताए।

सम्मेलनमा नेपालको सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा विकासशील राष्ट्रको आवाज सशक्त रूपमा प्रस्तुत गर्न सहयोग गरेको मन्त्रालयको निष्कर्ष छ। यसले जलवायु परिवर्तन, वित्तीय समानता, र सस्टेनेबल डेभलपमेन्ट जस्ता विषयमा नेपालको सक्रिय उपस्थिति देखाएको छ।

प्रधानमन्त्री ओलीको ६ दिने स्पेन भ्रमण केवल औपचारिक सहभागिता सीमित रहेन, यसले नेपाललाई विश्वमञ्चमा थप दृढताका साथ उभ्याउने अवसर सिर्जना गरेको छ। अब यो भ्रमणको कूटनीतिक उपलब्धिहरू व्यवहारमा कसरी परिणत हुन्छ भन्ने कुराले यसको दीर्घकालीन मूल्य आँकलन गर्न सकिनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *