काठमाडौं । राजावादी आन्दोलनमा संलग्न अभियोगमा मुद्दा खेपिरहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर राणालाई काठमाडौँ जिल्ला अदालतले तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
सोमबार न्यायाधीश शिवप्रसाद खनालको इजलासले उक्त आदेश दिएको हो। राणा सोही दिन स्वेच्छाले अदालतमा उपस्थित भएका थिए। उपस्थितिपछि तत्कालै बयान लिइएपछि अदालतले धरौटीमा छाड्ने निर्णय सुनाएको हो।
राणाविरुद्ध राज्यविरुद्धको अपराध, आपराधिक उपद्रव, संगठित अपराध तथा एकीकृत अपराध ऐन अन्तर्गत चारवटा मुद्दा दायर गरिएको थियो। २०८१ चैत १५ मा राजधानीको तीनकुनेमा आयोजित राजसंस्थाको समर्थनमा भएको प्रदर्शनमा संलग्नताका आधारमा उनलाई अभियुक्त बनाइएको हो। सुरुमा उपचारका लागि हाजिर जमानीमा रिहा भएका राणा त्यसपछि फरार भएका थिए। पछिल्लो समय उनी आफैँ उपस्थित भएपछि अदालतले पुनः धरौटीको आदेश दिएको हो।
यसअघि सोही आन्दोलनमा संलग्न अभियोगमा अदालतले ३२ जनालाई धरौटीमा रिहा गरे पनि दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। राणा पनि उनीहरूसँगै मुद्दामा तानिएका थिए, तर उनी लामो समयसम्म सम्पर्कविहीन थिए। राणा अदालतमा देखिए पनि राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र अझै सम्पर्कबाहिर छन्।
राणाको धरौटीमा रिहाइसँगै फेरि एकपटक राजनीतिक आन्दोलनको सीमा र कानुनी प्रक्रिया बीचको सन्तुलनमाथि बहस सुरु भएको छ। राज्यविरुद्धको मुद्दामा फरार अभियुक्तलाई धरौटीमा रिहा गरिनु न्यायको समान व्यवहार हो कि राजनीतिक पहुँचको लाभ—भोलिका दिनमा यो प्रश्न गहिरिँदै जाने देखिन्छ।




