देश

जन्मजात श्रेष्ठताका आधारमा लोकतन्त्रलाई पाखा लगाउने राजावादीको कार्य स्वीकार्य छैन : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादी शक्तिहरूद्वारा लोकतन्त्रलाई कमजोर बनाउने प्रयासप्रति कडा आपत्ति जनाएका छन्। शुक्रबार पोखरामा आयोजित राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले जन्मजात श्रेष्ठताको अवधारणामा आधारित कुनै पनि राजनीतिक सोच लोकतान्त्रिक व्यवस्थासँग मेल नखाने स्पष्ट पारे। उनले भने, “जसले लोकतन्त्रलाई जन्मजात अधिकारको नाउँमा हटाउने सपना देख्छ, त्यो कार्य नेपाली जनताले स्वीकार्दैनन्। अबको नेपाल अग्रगामी सोच, समानता र नागरिक स्वतन्त्रतामा आधारित हुनुपर्छ।” राजावादीहरुले जनताको अधिकार खोस्ने गरेको षड्यन्त्र कदापी पुरा हुने छैन् । जनताका सार्वजनिक तथा व्यक्तिगत सम्पतीमाथि तोडफोड गर्ने, अराजक गतिविधि मच्याई नागरिकहरुको ज्यान लिने गतिविधिको लोकतन्त्रले खुलेर चर्को प्रतिवाद गर्ने र बलजस्ती अघि बढ्न खोज्ने सरकारले त्यसलाई नियन्त्रण गर्ने उनले बताए । आफ्ना अधिकारका लागि लड्न समेत उनले सबैलाई आग्रह गरे ।

महाधिवेशनमा पोखरेलले युवालाई सशक्त बनाउनुपर्नेमा जोड दिंदै नयाँ पुस्तालाई विचार र नेतृत्वको मूलधारमा ल्याउने पार्टीको प्रतिबद्धता दोहोर्याए। उनले युवाहरुलाई सामाजिक न्याय, समावेशीता र परिवर्तनको नेतृत्व गर्न तयार रहन आग्रह गरे। पोखरेलले समकालीन राजनीति र संस्थागत सुधारप्रति पनि टिप्पणी गर्दै जवाफदेही र पारदर्शी शासन प्रणाली नै लोकतन्त्रको मूल आत्मा भएको बताए। राष्ट्रिय युवा संघ नेपालको महाधिवेशनमा देशभरबाट प्रतिनिधि सहभागी भएका छन्। महाधिवेशनमार्फत संघले नयाँ नेतृत्व चयन गर्दै आगामी रणनीति तय गर्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *