
काठमाडौं । सर्लाही जाँदै गरेको एक यात्रुवाहक विङ्गर भ्यान मकवानपुरको त्रिभुवन राजपथमा दुर्घटनामा परेको छ। चित्लाङबाट सर्लाहीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको भ्यान आज दिउँसो भीमफेदी गाउँपालिका–९ स्थित छैसठ्ठी मोडमा अनियन्त्रित भएर झण्डै २० मिटर तल खसेको हो।
दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन्, जसमा ३ जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीका डिएसपी श्यामु अर्यालले जानकारी दिए। घाइतेहरूलाई हेटौंडा अस्पतालमा उपचारका लागि लगिएको छ।
भ्यान सल्लाको रूखमा अड्किएकाले सम्भावित ठूलो दुर्घटनाबाट जोगिएको बताइएको छ। प्रारम्भिक अनुसन्धान अनुसार ब्रेक फेल भएपछि गाडी दुर्घटनामा परेको हो। उद्दारका लागि जिल्ला ट्राफिक, पालुङ र भीमफेदी इलाका प्रहरी कार्यालयसहित २५ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो। दुर्घटनापछि सडक सुरक्षाको विषयमा पुनः प्रश्न उठेको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।