
काठमाडौं। हुम्लाको नाम्खा गाउँपालिका–६, तिल गाउँमा पहिरोले क्षति पुर्याएपछि गृहमन्त्री रमेश लेखकले तत्काल राहत सामग्री उपलब्ध गराउन निर्देशन दिएका छन्। सोमबार गृह मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकमा गृहमन्त्री लेखकले विस्थापितका लागि हेलिकप्टरमार्फत राहत सामग्री र प्राविधिक टोली पठाउने निर्णय गरेका हुन्।
गृहमन्त्री लेखकले पहिरो प्रभावित क्षेत्रमा त्रिपाल, खाद्यान्न, औषधि लगायतका सामग्री तत्काल पुर्याउन सम्बन्धित निकायलाई निर्देशन दिए। हेलिकप्टर मार्फत राहत पुर्याउन समेत तयारी थालिएको गृह मन्त्रालयले जानकारी दिएको छ। साथै, प्राविधिक टोलीलाई स्थलगत अध्ययनका लागि खटाइने निर्णय पनि बैठकले गरेको छ।
मन्त्री लेखकले कर्णाली प्रदेश सरकारसँग समन्वय गरेर राहत वितरणलाई प्रभावकारी बनाउने र जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्न समेत निर्देशन दिएका छन्।
नाम्खा गाउँपालिका–६, तिल गाउँमा हिमताल फुटेर आएको पहिरोका कारण ३२ जना विस्थापित भएका छन्। स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्ने कार्यमा सशस्त्र प्रहरी परिचालन गरिएको छ। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले पनि बैठकमा बोल्दै, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रहरू थप जोखिममा पर्ने बताउँदै राहत वितरणलाई तत्काल अघि बढाउन जोड दिएका छन्।
गृहमन्त्री लेखकले प्रिमनसुन पूर्व नै विपद् प्रतिकार्यका लागि तयारी थाल्न सबै जिल्ला सुरक्षा समितिहरूसँग समन्वय गर्न निर्देशन दिएका छन्। विपद् प्रतिकार्यमा निजी संघ–संस्थासँग सहकार्य गरी स्रोत साधनको अधिकतम उपयोग गर्ने नीति पनि अघि सारिएको छ।
गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा निकायका प्रमुख र विभिन्न सरोकारवाला निकायका अधिकारीहरूको उपस्थितिमा सम्पन्न बैठकले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन साझा प्रयासको खाँचो रहेको निष्कर्ष निकालेको छ। हेलिकप्टरबाट राहत र स्थलगत अध्ययनका लागि प्राविधिक टोलीको प्रस्थान कहिले हुने होरु यसले हुम्लाका पीडितहरूलाई तत्काल राहत पुग्ने अपेक्षा गरिएको छ।