देश

ड्युटीमै जवानमाथि कुटपिट गर्ने इन्स्पेक्टरमाथि छानबिन, एसपीको नेतृत्वमा समिति

काठमाडौं । नागढुंगामा एक ट्राफिक इन्स्पेक्टरले आफ्नै ड्युटीमा रहेका प्रहरी जवानमाथि हातपात गरेको घटनाले चर्चा पाएको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले छानबिन समिति गठन गरेको छ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसपी पदमबहादुर विष्टको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिमा ट्राफिक प्रहरी रामशाहपथका डीएसपी र काठमाडौं प्रहरी परिसरका एक निरीक्षक पनि छन्। छानबिनको जिम्मा पाएको समितिलाई सात दिनको समय दिइएको छ।

बुधबार दिउँसो ट्राफिक प्रभाग नागढुंगाका प्रमुख इन्स्पेक्टर जितेन्द्रकुमार साहले प्रहरी जवान मदन खड्कामाथि कुटपिट गरेका थिए। भिडियो सार्वजनिक भएपछि इन्स्पेक्टर साहलाई तत्काल जिम्मेवारीबाट हटाइएको छ। छानबिन प्रतिवेदनको आधारमा आवश्यक विभागीय कारबाही हुने प्रहरीले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *