काठमाडौं। भारत सरकारको औपचारिक निमन्त्रणामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको १० सदस्यीय प्रतिनिधिमण्डल आज नयाँदिल्ली प्रस्थान गरेको छ। मुख्यमन्त्रीस्तरको टोलीलाई भारत सरकारले औपचारिक रुपमा आमन्त्रण गरेको सम्भवतस् यो पहिलोपटक हो।
टोलिमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरी, नेकपा (एकीकृत समाजवादी) का सचेतक नरेशकुमार शाही, माओवादी केन्द्रका सांसद झपटबहादुर साउँद, नीति आयोग सदस्य शेरबहादुर भण्डारी, मुख्य सचिव डा. कमलप्रसाद पोखरेल, अन्य वरिष्ठ अधिकारीहरू र सल्लाहकारहरू सहभागी छन्।
दिल्ली हुँदै उत्तरप्रदेश र उत्तराखण्डका विभिन्न स्थानको भ्रमण गर्ने तालिका रहेको छ। भ्रमणका क्रममा भारतीय कृषि अनुसन्धान संस्थाको अवलोकन, अयोध्या र देहरादुनका धार्मिक तथा पर्यटकीय क्षेत्रको निरीक्षण तथा उत्तराखण्डका मुख्यमन्त्रीसँग बैठक तय गरिएको छ।
मुख्यमन्त्री शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्नु अघि पत्रकारहरूसँग कुरा गर्दै यस भ्रमणले नेपाल–भारत सम्बन्ध थप प्रगाढ हुने र सुदूरपश्चिमबासीले भारतमा भोग्दै आएका समस्याहरूबारे भारत सरकारसँग प्रत्यक्ष संवाद गरिने जानकारी दिए।
सप्ताहव्यापी भ्रमणपछि टोली वैशाख २२ गते लखनउबाट स्वदेश फर्किने छ। भ्रमण खर्च प्रदेश सरकारबाट नभई अन्य संयोजनबाट भएको हो भने भ्रमणलाई संघीय मन्त्रीपरिषदले केही दिनअघि स्वीकृति दिएको थियो।
प्रधानमन्त्री स्तरको संवादमा भारतको चासो नदेखिए पनि मुख्यमन्त्री स्तरमा निमन्त्रण पठाइनुले यो भ्रमणलाई कूटनीतिक रूपमा अर्थपूर्ण रूपमा लिइएको छ।




