देश

आन्दोलनरत शिक्षकहरूलाई विद्यालय फर्किन कालिगण्डकी गाउँपालिकाको अन्तिम चेतावनी : १४ गतेदेखि विद्यालय नखोले शिक्षकबाट राजीनामा दिनुहोस्

काठमाडौं । गुल्मीको कालिगण्डकी गाउँपालिकाले आन्दोलनरत शिक्षकहरूलाई विद्यालय फर्किन अन्तिम चेतावनी दिएको छ। २०७८ साल भदौ १४ गतेसम्म विद्यालयमा उपस्थित नभए राजीनामा दिनु भन्ने स्पष्ट निर्देशन गाउँपालिकाले जारी गरेको हो।

शिक्षक महासंघको आव्हानमा भइरहेको आन्दोलनका कारण पालिकाभित्रका सबै विद्यालयहरूमा पठनपाठन प्रभावित भएको भन्दै गाउँपालिकाले तत्काल अध्ययन–अध्यापनमा फर्किन आग्रह गरेको हो।

गाउँपालिका अध्यक्ष वेदबहादुर थापाद्वारा जारी सूचनामा भनिएको छ, “शैक्षिक गुणस्तरमा प्रत्यक्ष असर परिरहेकोले आगामी १४ गतेदेखि नियमित रुपमा पठनपाठन सञ्चालन गर्न सम्पूर्ण शिक्षक तथा कर्मचारी अनिवार्य रूपमा विद्यालयमा उपस्थित हुनुपर्नेछ।”

सूचनामा थप उल्लेख छ, “तोकिएको समयसम्म विद्यालयमा हाजिर नभई पठनपाठनमा सहभागी नभएकाले सेवा सुविधा नपाउने गरी प्रशासनिक प्रक्रिया अघि बढाइने छ। साथै, त्यस्ता शिक्षकरकर्मचारीले स्वेच्छिक राजीनामा दिन वा सरुवाको प्रक्रिया अगाडि बढाउनुपर्नेछ।”

कालिगण्डकी गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्रभावित पार्ने कुनै पनि गतिविधि नअपनाउन सबै पक्षलाई आग्रह गर्दै शिक्षण पेशाको मर्यादा कायम राख्न शिक्षकहरूलाई आह्वान गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *