कर्णाली प्रदेश

हुम्ला जेठ ९ गते साक्षर जिल्ला घोषणा, ९६.०४ प्रतिशत नागरिक साक्षर

सिमकोट (हुम्ला) । हुम्ला जिल्ला आगामी जेठ ९ गते साक्षर जिल्ला घोषणा हुने भएको छ। जिल्लाका १५ देखि ६० वर्ष उमेर समूहका ९६.०४ प्रतिशत नागरिक साक्षर भएपछि यो घोषणा गर्न लागिएको हो।

जिल्लाका सातवटै स्थानीय तह यसअघि नै साक्षर पालिका घोषणा भइसकेकाले अब जिल्लालाई पनि साक्षर घोषणा गर्ने निर्णय शिक्षा विकास तथा समन्वय इकाई समितिले गरेको छ। आज बिहान समितिका प्रमुख शिवराज शर्माको अध्यक्षतामा बसेको बैठकले साक्षर घोषणाका लागि आवश्यक मापदण्ड र शर्तहरू पूरा भएकाले जिल्लालाई साक्षर घोषणा गर्न लागिएको जनाएको छ।

शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख योगेश आले मगरका अनुसार जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहका ३५ हजार ३५४ जनसङ्ख्यामध्ये ३३ हजार ९५४ अर्थात् ९६.०४ प्रतिशत नागरिक साक्षर भएका छन्।

उनले थप जानकारी दिँदै भने, नाम्खा गाउँपालिकामा ९६.१६ प्रतिशत, सिमकोटमा ९५.६ प्रतिशत, खार्पुनाथमा ९५.५ प्रतिशत, सर्केगाडमा ९५.७४ प्रतिशत, चङ्खेलीमा ९५.२४ प्रतिशत, अदानचुलीमा ९५.२८ प्रतिशत र ताँजकोट गाउँपालिकामा ९८.२८ प्रतिशत नागरिक साक्षर भएका छन्।

जिल्ला समन्वय समितिका प्रमुख शर्माले साक्षर नेपाल घोषणा अभियान–२०७६ अनुसार १५ देखि ६० वर्ष उमेरका ९५ प्रतिशत नागरिक साक्षर भएपछि पालिका र जिल्लालाई साक्षर घोषणा गर्न सकिने प्रावधान रहेको बताए। लामो प्रयासपछि जिल्ला साक्षर घोषणा हुन लागेकामा खुसी व्यक्त गर्दै उनले यसमा सबैको अनिवार्य सहयोगको आवश्यकता औँल्याए। साक्षर जिल्ला घोषणाका लागि यहाँस्थित सामाजिक विकास कार्यालयले आर्थिक सहयोग गर्ने कार्यालयका प्रमुख हर्कबहादुर बस्नेतले जानकारी दिए।

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रबहादुर चन्द, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र प्रमुख प्रशासकीय अधिकृत वर्ष फडेरा, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल र प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, नेपाल पत्रकार महासङ्घ जिल्ला अध्यक्ष राजन रावत लगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *