काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा सार्वजनिक भइसकेको अवस्थामा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले सरकारलाई जानकारी छैन् भन्ने अभिव्यक्तिले नयाँ अन्योल सिर्जना गरेको छ।
बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सरकारलाई शिक्षामन्त्रीको राजीनामाबारे आधिकारिक सूचना नभएको बताए। यो भनाइ प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं राजीनामा स्वीकृत भएको पुष्टि गरिसकेको अवस्थामा आएको हो।
त्यसै अवसरमा मन्त्री गुरुङले आन्दोलनरत शिक्षकहरूको जायज मागप्रति सरकार गम्भीर रहेको र समाधानको लागि तयार रहेको बताए। उनले भने, “शिक्षा प्रणाली प्रभावित हुँदा विद्यार्थीकै भविष्य संकटमा पर्छ, त्यसैले आन्दोलन तत्काल रोक्नुपर्छ।”
सरकारले शिक्षकहरूलाई वार्ताको लागि आग्रह गर्दा पनि अपेक्षित सहयोग नभएको उनले बताए। शिक्षामन्त्रीको राजीनामा र शिक्षक आन्दोलनबीचको सम्बन्धले अब राजनीतिक तानातान झनै चर्किने संकेत देखिएको छ।




