कोशी प्रदेश

अनुमति बिना रुख काटेको आरोपमा मेयर हर्क साम्पाङमाथि वन कार्यालयको छानबिन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङमाथि सामुदायिक वन क्षेत्रभित्र अनुमति बिना रुख काटेको आरोपमा छानबिन सुरु गरिएको छ।

डिभिजन वन कार्यालय सुनसरीले मेयर साम्पाङविरुद्ध उजुरी परेपछि तीन सदस्यीय छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाएको हो।

साम्पाङले धरान–२०, विष्णुपादुका सामुदायिक वनमा फायर लेन बनाउने भन्दै चैत १९ गते मेसिन प्रयोग गरेर रुख काटेका थिए। तर, यसका लागि पूर्वअनुमति नलिएको भन्दै उपभोक्ता समितिले उजुरी दिएको हो।

डिभिजन वन कार्यालयका प्रमुख खुद्रोस मियाँका अनुसार छानबिन समितिको नेतृत्व विष्णुपादुका सबडिभिजन वन अधिकृत महेश कुमार शाहले गरिरहेका छन्। समितिमा पञ्चकन्या सबडिभिजनका अधिकृत लेखनाथ भण्डारी र सहायक वन अधिकृत फुलकुमारी भोटे पनि सदस्य छन्।

प्रमुख मियाँले भने, “वन क्षेत्रमा इजाजतबिना रुख काट्न कसैलाई छुट छैन। स्थलगत छानबिनपछि कानुनी प्रक्रिया अनुसार कारबाही हुन्छ।” हाल समिति घटनास्थलमा पुगेर तथ्य संकलनमा जुटिरहेको छ। प्रतिवेदनपछि वन ऐनअनुसार सजाय तोकिने बताइएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *